s
कपिलवस्तु । ७ हत्या, २ अपहरण तथा दर्जनौं डाँका मुद्दामा फरार दोषीलाई सरकार आफैंले दाहिने बनाएर राखेको प्रसंगले कपिलवस्तु तातेको छ । विषय हो ३ पुसको । मायादेवी २ अभिराव बस्तीमा आयोजित थियो मुस्लिम कवि सम्मेलन र मुसायरा कार्यक्रम । प्रमुख अतिथि थिए कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव) र सुरक्षा व्यवस्थामा सिडिओ अर्जुन पोखरेल । विशिष्ट व्यक्ति उपस्थित कार्यक्रममा सहभागीहरू तब चकित बने जब बोलाइयो नसिम खाँ (बादशाह) लाई । उनीमाथि वैशाख १३ गते सोही स्थानका वडाध्यक्ष फत्ते मोहम्मदका ४ वर्षीय छोराको अपहरण र हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरीमा दर्ता छ ।

त्यो मात्र होइन, शान्तिकालपछि ५ जना माओवादी कार्यकर्ताको दिनदहाडै गोली हानी हत्या गर्ने मुख्य अभियुक्त हुन् नसिम खाँ । संकटकालमा प्रतिकार समितिको नाइके बनेर माओवादी कार्यकर्ताको घरमा आगजनी, लुटपाट र हत्यासमेत गर्न भ्याएका उनी अहिले तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर बलदेवको घनिष्ट बनेका छन् ।

तत्कालीन एमालेले राजनीतिक संरक्षण दिँदै आएको कारण पार्टी एकतासँगै अपराधीलाई पनि सकार्न पुगेका हुन् बलदेवले । तराई जनतान्त्रिक मुक्तिमोर्चाको पश्चिम सैन्य कमाण्डर बनेर आतंक मच्चाई भारतमा सेल्टर लिँदै आएका उनलाई एमालेले त्यहीं गएर सदस्यता दिएको बताइन्छ । सिडिओ अर्जुन पोखरेल सरकारसँग वार्तारत जनतान्त्रिक कौटिल्य समूहको सदस्य भएकाले गृहकै आदेशमा नसिमलाई पक्राउ नगरेको बताउँछन् । कौटिल्य समूहको वार्ता समिति संयोजक भन्दै सरकारले संरक्षण गरे पनि उनलाई ०५९ सालमै कम्युनिष्ट पार्टीको सदस्यता दिइएको थियो । त्यस मानेमा कौटिल्य समूह पार्टीको भ्रातृ संगठन हुनुपर्ने हो ।

रमाइलो त के छ भने तत्कालीन एमाले उपाध्यक्ष बाबुराम खनालले नसिमकी श्रीमती फौजियालाई समानुपातिकमा प्रदेश सभासद् बनाई पतिलाई वार्ता समिति भन्दै नेपाल आउने बाटोसमेत खुला गराएका छन् । जसबापत उनलाई मोटो नजराना प्राप्त भएको आरोप थियो । त्यसै कारण उनले नेकपाको प्रदेश सदस्य बन्न पाएनन् ।

०६२ सालअघि देखि नसिम खाँ हत्या र डकैतीका २ वटा घटनामा फरार छन् जुनबेला जनतान्त्रिक समूह नै जन्मिएको थिएन । एमाले सदस्यता लिएको मितिदेखि यता उनको नाममा १ हत्या २ अपहरणको आरोप छ । मन्त्री र सिडिओ आफंै अपराधीको संरक्षणमा लागेपछि कसरी न्याय पाउने भन्दै वैशाख १३ मा मारिएका बालकका पिता फत्ते मोहम्मद गुनासो पोख्छन् । सरकार आफंै अपराधी संरक्षणमा लागेको भन्दै छिमेकी जिल्लामा समेत चर्को आलोचना भइरहेको छ । नसिम र उनको समूहले ०६४ सालयता माओवादी नेता राजेन्द्र तिवारी, अकाली धोबी, प्रेम परियार (भुवन), ज्ञानहरि कार्की, शिवपुजन कुर्मीको हत्या गरेको थियो । तत्कालीन गाविस सचिव राममिलन गुप्ता र वैशाख १३ मा ५ वर्षीय बालक अयमानको हत्या मुद्दामा समेत उनी फरार छन् ।

प्रतिक्रिया दिनुहोस !