
धनगढी । कैलालीको धनगढीमा हरेक वर्ष कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवलाई चुनौति दिँदै धनगढीमा दुईवटा महोत्सवहरुको आयोजना गरिँदैछ । सदस्यता विवादका कारण उच्च अदालत दिपायलमा कैलाली उद्योग वाणिज्य संघको विरुद्धमा मुद्दा दायर भएपछि बैशाख २२ गतेका लागि तय गरिएको संघका आगामी नेतृत्वका लागि हुने भनिएको निर्वाचन तत्तकालका लागि स्थगित गरिएको थियो ।
सदस्यता विवादका कारण स्थगित भएको संघको निर्वाचन र हरेक वर्षको मंसिर २२ देखि पौष दुईगतेसम्म आयोजना हुने सुदूरपश्चिम महोत्सव पनि अन्यौलमा परेको बेला धनगढीमा दुईवटा महोत्सव आयोजना गरिदैछ । यस अघि नै कैलाली उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं पदाधिकारीहरुले कैलाली उद्योग वाणिज्य संघको अस्तित्व गुम्ने गरी कहिकतैबाट गलत प्रयास हुन नहुँने भन्दै विज्ञप्ती नै जारी गरेपनि फेरी धनगढीमा दुईटा महोत्सव गरिन लागेको हो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले संस्थाले लगाउँने महोत्सव र व्यक्तिले लगाउँने महोत्सवमा धेरै अन्तर हुने भएकोले यसका कारण सुदूरपश्चिम प्रदेशको समग्र विकासलाई अप्ठ्यारो पर्ने बताए । हामीले यस अघि नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुको साथै महोत्सव आयोजना गर्न लागेका ब्यक्तिहरु संग पनि आग्रह गरेका थियौँ अध्यक्ष बोगटीले भने धनगढीमा दुईवटा महोत्सव गरिन लागेको कुरा सुनियो तर यस्ता महोत्सवले सुदूरपश्चिमको समग्र विकासलाई समेटी सरकारलाई झकझक्याउने काम गर्न सक्दैन । यस्ता महोत्सवले यहाँको विकासलाई प्रभाव मात्र पार्ने देखिएको बोगटीको भनाई छ ।
कैलाली उद्योग वाणिज्य संघको निर्वाचन यहि पौष २८ गते सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ । निर्वाचन सम्पन्न लगत्तै सुदूरपश्चिम महोत्सव आयोजना गरिने उद्योग वाणिज्य संघले जानकारी गराई रहेका बेला फनपार्क र साना उद्योग वाणिज्य संघले पौष महिनामै महोत्सव आयोजनाको तयारी गर्दै छुट्टाछुट्टै रुपमा पत्रकार सम्मेलन समेत गरिसकेका छन् । सुदूरपश्चिम महोत्सवलाई चुनौती दिने गरी उस्ताउस्तै प्रकृतिका महोत्सव आयोजना हुनु, पौष महिनामै दुवै महोत्सव आयोजना गरिनु सुदूरपश्चिम महोत्सवको अस्तित्वलाई मेटाउने खेल भएको धनगढी उपमहानगरपालिका–४ का कृष्ण अवस्थीले बताए । कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव यस प्रदेशको प्रमुख पर्वको रुपमा विकास भइरहेको अवस्थामा क्लव तथा साना उद्योग वाणिज्य संघले मौकाको फाइदा उठाएर मेला आयोजना गर्नु दर्शक तानेर पैसा कमाउने खेल मात्रै भएको टिकाटिप्पणी हुनेक्रम बढ्दै गएको छ ।
पौष २३ देखि २९ गते सम्म नेपाल घरेलु तथा साना उद्योग वाणिज्य महासंघले प्रविधि प्रदर्शनीको रुपमा महोत्सव आयोजना गर्दैछ भने फनसीटीमा पनि महोत्सव आयोजना गरिदैँछ । मौसम महोत्सवको भएपनि धनगढीमा उद्योग वाणिज्य संघलाई पन्छ्याउने गरी मेला आयोजना गर्नु राम्रो पक्ष नभएको अर्का स्थानीय विनोद कार्कीले बताए । निर्वाचन प्रक्रियालाई सम्पन्न गरेर सुदूरपश्चिम महोत्सवको आयोजना गरिने कैलाली उद्योग वाणिज्य संघले बताइरहेका बेला त्यस अगाडी नै विभिन्न संघसंस्थाहरुले मेला तयारीका लागि विभिन्न नारा र प्रलोभन देखाउनु अहिलेकै अवस्थामा उपयुक्त नभएको स्थानीयको गुनासो छ ।