काठमाडौं । डेढ दशकअघि नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको १० रुपैयाँ दरको पोलिमर (प्लाष्टिक) नोटमा भ्रष्टाचार भएको ठहर यसअघि अष्ट्रेलियाको एउटा अदालतले गरिसकेको छ । यता, नेपालमा भने भ्रष्टाचार भएको भनिएको डेढ दशकसम्म त्यसतर्फ कुनै पनि निकायले सूक्ष्म अनुसन्धान गरेन । अहिले सोही काण्डमा संलग्नताको आरोपमा तत्कालीन गभर्नर डा.तिलकबहादुर रावल, नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौडेल र अष्ट्रेलियन नोट प्रिण्टिङ कम्पनीका नेपाली प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
नोट छपाइको औपचारिक प्रक्रियाअगावै रातारात मन्त्रिपरिषद् सचिवालयबाट बैंकको ऐन र नोट छपाइ विनियमावलीमा संशोधन गर्ने कार्यमा तत्कालीन प्रधानमन्त्री तथा अर्थमन्त्री शेरबहादुर देउवाको समेत प्रत्यक्ष संलग्नता रहेको अष्ट्रेलियन केन्द्रीय बैंकको अनुसन्धान र अदालतबाट पुष्टि भइसकेको छ ।
अष्ट्रेलियाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उपलब्ध गराएको पछिल्लो विवरणअनुसार नेपालका केही वरिष्ठ सञ्चारकर्मीदेखि आर्थिक पत्रकारितामा चर्चा कमाएका ठूला सञ्चारगृहका हस्तीहरूसमेत पोलिमर नोट काण्डमा मुछिएका छन् । अख्तियारले अष्ट्रेलियाबाट प्राप्त गरेको अनुसन्धान विवरणमा नोट विभागका तत्कालीन अधिकृत ध्रुव खत्री र पाण्डेकी श्रीमतीको बैंक खाता गुणस्तरहीन पोलिमर नोट छपाइबाट प्राप्त अवैध रकमलाई विभिन्न व्यक्तिको खातामा व्यवस्थापनका लागि प्रयोग गरिएको आशंका उठाइएको छ ।