रुपन्देही, १७ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले २०१९ लुम्बिनीका लागि महत्वपूर्ण वर्ष हुने बताउनुभएको छ । लुम्बिनी विकास कोषले शुरु गरेको वृक्षरोपण अभियानको आज लुम्बिनीमा उद्घाटन गर्दै उहाँले लुम्बिनीको सौन्दर्य बढाई विश्वको ध्यान तान्ने वातावरण निर्माण गर्ने काम शुरु भएकाले यो वर्ष विशेष हुने बताउनुभयो । 

वर्ष २०१८ मा विभिन्न देशका प्रमुख तथा उच्चपदस्थ व्यक्तिले लुम्बिनी भ्रमण गरेको बताउँदै उहाँले प्रत्येक वर्ष लुम्बिनी आउनेको सङ्ख्या बढ्दै जाने बताउनुभयो । “लुम्बिनीलाइ हरियाली बनाउन पाँच हजार बिरुवा रोप्दैछौँ”, उहाँले भन्नुभयो, “वृक्षरोपणले बुद्धका विचार रोपण हुन्छ ।” लुम्बिनीलाई विश्वमा बुद्धका विचारको प्रचारप्रसार केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीको गुरुयोजना पूरा गर्न ग्लोबल टेण्डरको प्रक्रियामा गएको भन्दै मायादेविदेखि बसपार्कसम्म दायाँबायाँ हरियाली पार्क निर्माण गर्ने काम शुरु भएको र दुई हजार ५०० फूलका बिरुवा र अन्य बोट बिरुवा रोप्ने काम हुने बताउनुभयो । 

प्रदेशसभा सदस्य फकरुद्दिन खानले लुम्बिनी चराको उपयुक्त बासस्थान भएकाले कुन वृक्ष रोप्दा चराको बासस्थानका लागि उपयुक्त हुन्छ त्यसको अध्ययन गरेर वृक्षरोपण गर्न सुझाव दिनुभयो । कार्यक्रममा भिक्षु विवेकानन्दले पञ्चशील प्रदान गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस !