पोखरा, पुस : नेपाल पत्रकार महासङ्घको आगामी फागुन ९ र १० गते पोखरामा हुने केन्द्रीय साधारणसभा एवं विधान अधिवेशनको तयारीबारे यहाँ आज छलफल गरिएको छ । पोखरामा हुने साधारणसभा एवं विधान अधिवेशनलाई सफल बनाउन महासङ्घ कास्कीले खेल्नुपर्ने भूमिकालगायत विषयमा छलफल गरेको हो । प्रत्यक्ष निर्वाचन प्रणालीअनुरुप आगामी दिनमा महासङ्घको नेतृत्व चयन गर्ने गरी विधानको तयारी भइरहेका सन्दर्भमा पोखरामा हुने साधारणसभा महत्वपूर्ण हुने महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले प्रत्यक्ष निर्वाचनमार्फत नेतृत्व चयन हुन सके महासङ्घको गरिमा र महत्व बढ्ने विषय उठिरहेका अवस्थामा आगामी विधान अधिवेशनले त्यसबारे उपयुक्त निर्णय लिने बताउनुभयो । छलफलमा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतिक, महासङ्घ कास्की शाखाका सल्लाहकार रमेश पौडेल, महासङ्घ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेल, शाखाका सचिव रामप्रसाद तिमल्सिना, गण्डकी प्रदेश समिति अध्यक्ष त्रिभुवन पौडेललगायतले महासङ्घ र विधान अधिवेशन पोखरामा सफल पार्नुपर्नेमा जोड दिनुभयो ।