वीरेन्द्रनगर, १९ पुस : कर्णाली प्रदेशका महिलाको समस्या समाधानका लागि शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल(संकल्प) कर्णाली प्रदेशले त्यहाँका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण गराएको छ । 

संकल्पको नेतृत्वमा गएको महिला प्रतिनिधिमण्डलले आज मुख्यमन्त्री कार्यालयमा पुगेर महिलाको समस्या सम्बन्धमा मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहीले कर्णालीका महिलाका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो । 

यस क्षेत्रमा आत्महत्याको अवस्था विकराल रहेकाले यसको न्यूनीकरणका लागि प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने र धार्मिक तथा सांस्कृतिक कारणले यस क्षेत्रका महिला हिंसा खेप्न बाध्य भएकोमा यसको समाधानका लागि कर्णाली सरकारलाई ध्यानाकर्षण गराएको संकल्पका कर्णाली प्रदेश अध्यक्ष सितलसिंह राठौरले जानकारी दिनुभयो । 

जबरजस्ती करणीका घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, बालविवाहका कारण महिला घरेलु हिंसाको सिकार बढी हुने भएकाले बालविवाह न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने, द्वन्द्वको समयमा बलात्कारमा परेका महिला अझै पनि न्याय पाउन नसकेकाले यसतर्फ पनि सरकारको ध्यान जानुपर्ने लगायत ज्ञापनपत्रमा उल्लेख छ । 
(रासस)

प्रतिक्रिया दिनुहोस !