काठमाडौँ, २० पुस : राष्ट्रिय जनमोर्चाले टीकापुर काण्डका अभियुक्त सांसद रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको शपथ गराइकोप्रति विरोध गरेको छ । 
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उक्त अभियोगको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका चौधरीलाई शपथग्रहण गराएर ‘माननीय सांसद’को मान्यता दिनु गलत कार्य भएकाले आपत्ति जनाइएको छ । 

सरकारलाई आवश्यक बहुमत हुँदाहुँदै पनि मधेश केन्द्रित दलले समर्थन गरी जघन्य हत्यासम्बन्धी फौजदारी अभियोगलाई राजनीतिक घटनाको संज्ञा दिएर चौधरीलाई सांसदको शपथ गराउने, संविधान र नागरिकता विधेयक संशोधनलगायतका माग पूरा गर्न सरकारलाई दबाब, धम्की दिने गैरराजनीतिक, कानूनविपरीत र अनैतिक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 
टीकापुर काण्डमा एकजना नाबालकसहित नौको हत्या भएको थियो । उक्त घटनापछि चौधरी फरार अवस्थामा नै वारेसनामाबाट उम्मेदवारी दिएर चुनावमा विजयी हुनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस !