स

काठमाडौँ, पुस । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलो पटक गुणस्तरसम्बन्धी मापदण्ड २०७५ कार्यान्वयनमा ल्याएको छ । गुणस्तरहीन मदिराका कारण जनस्वास्थ्यमा परेको प्रतिकूल असरलाई नियन्त्रण गर्ने उद्देश्यसहित विभागले पहिलो पटक मदिरासम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको जनाएको छ ।
विभागका निर्देशक एवं प्रवक्ता पूर्णचन्द्र वस्तीले गुणस्तरहीन मदिराको उत्पादन, आयात तथा बिक्री वितरण गर्न नपाइने व्यवस्थासहितको नयाँ मापदण्ड कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । गुणस्तरहीन मदिराको उत्पादन, आयात तथा बिक्री वितरणमा बन्देज लगाई प्रयोगकर्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन सो मापदण्ड निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । अहिले हामीले ह्विस्की, ब्राण्डी, रम, भोड्का र जिनमा मापदण्ड तोकेका छौँ, उहाँले भन्नुभयो, केही समयपछि वाइन, बियरलगायतका मदिराजन्य पदार्थको पनि मापदण्ड निर्धारण गर्नेछौँ ।
मदिरामा प्रयोग हुने इथाइल अल्कोहल ३६ देखि ५० प्रतिशत (आयतनको आधारमा २० डिग्री सेल्सियस)सम्म हुनुपर्ने छ तर तीन प्रतिशतसम्म घटीबढी हुँदा भने स्वीकार्य हुने गरी मापदण्ड तयार गरिएको छ । विद्यमान मदिरा ऐन राजस्व र अन्तशुल्कका लागि मात्र काम गर्ने भएकाले मदिराको गुणस्तर निर्धारण गर्नका लागि मदिरा मापदण्ड ल्याउनु परेको विभागका निर्देशक वस्तीको भनाइ छ । राम्रो गुणस्तर भनेर कमसल खालका सामग्री प्रयोग गर्दा मानिसको मृत्युसमेत भएको घटनापछि विभागले मापदण्डको तयारी गरेको थियो ।
नयाँ मापदण्ड अनुसार मदिरा उत्पादनमा अल्कोहललगायत यसमा प्रयोग हुने तत्वहरूको मात्रा प्याकेजिङ लेबलिङ, भण्डारण र ढुवानीको मात्रा निर्धारण गरिएको छ । मापदण्डमा उत्पादकको नाम, ठेगाना, इथाइल अल्कोहलको मात्रा, प्याकिङ मिति, ब्याच नम्बर, परिणाम, उपभोग्य मिति अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था छ । यस्तै ह्विस्की, रम, भोड्का, ब्रान्डी र जिन गरी पाँच प्रकारका मदिरा उत्पादन गर्दा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड, साइकोट्रपिक, क्याफिनलगायत अन्य प्रकारका पदार्थको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
माल्ट ग्रेन, ब्लेन्डेड र अन्य प्रकारको ह्विस्कीको हकमा अन्न वा स्टार्चजन्य खाद्य पदार्थलाई जीवन रासायनिक प्रक्रियाबाट प्रशोधन गरेर तयार पार्न सकिने गरी मापदण्ड निर्धारण गरिएको छ । ह्विस्की उत्पादन गर्दा कम्तीमा एक वर्ष ओकको भाँडामा राखेर भण्डारण गरिएको हुनुपर्ने छ । ‘रम, ह्वाइट रम र फ्लेवर्ड रमको हकमा उखुको रस, उखुको गुड, उखुको सुगर बिट, सुगर बिट मोलासेसजन्य खाद्य पदार्थलाई फर्माटेसन गरी मात्रै रम बनाउनुपर्ने’ मापदण्डमा उल्लेख छ । यस्तै रममा कैरामलबाहेक अन्य रङ प्रयोग गर्न नपाइने मापदण्ड निर्धारण गरिएको छ ।
आलु, अन्न, मोलासेस वा कार्बोहाइड्रेटजन्य पदार्थको फर्माटेसन गरी डिस्टिलेसन प्रक्रियाबाट प्राप्त हुने न्यूट्रल स्प्रिटबाट भोड्का उत्पादन तयार पार्नुपर्ने छ । त्यसैगरी, ब्रान्डीको हकमा तीन प्रकारको मापदण्ड तोकिएको छ । अङ्गुरको ब्राण्डीको हकमा ताजा, स्वस्थ र पाकेको अङ्गुरको फर्माटेसन जुसबाट मात्रै तयार गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । फलफूलको ब्रान्डीको हकमा अङ्गुरबाहेक अन्य फलफूलको फर्माटेसन जुसबाट तयार गर्नुपर्ने आधार तोकिएको छ । जिन तयार गर्दा जुनिपर बेरीको वाष्पशील तत्वको स्वाद भएको न्यूट्रल स्प्रिटबाट तयार गर्न सकिने मापदण्डमा उल्लेख छ । यसमा अन्य वनस्पति र वास्नाको वाष्पशील तत्व पनि प्रयोग गर्न सकिन्छ । खाद्य स्वच्छताका आधारमा ल्याएको मदिराजन्य मापदण्डले अब नेपालमा मानव स्वास्थ्यलाई हानि पु¥याउने खालका मदिरा उत्पादनमा भने बन्देज लगाइएको छ । अहिलेसम्म नेपालमा मदिरा उत्पादन गर्ने विषयमा गुणस्तर निर्धारण, कच्चा पदार्थको अवस्था र गुण, मदिरामा पाइने जीवाणु र मानव स्वास्थ्यलाई गर्नसक्ने हानि–नोक्सानीको बारेमा हालसम्म कुनै मापदण्ड थिएन ।
सीता शर्मा