व
चितवन । जङ्गलमा बस्ने गैँडा सहर बजार पस्न थालेपछि कस्तो होला ? स्थानीय वासिन्दा आतङ्कित छन् भने निकुञ्ज अधिकारीहरूको टाउको दुखाइ बनेको छ ।
हुन पनि वन्यजन्तुका लागि विश्वमै प्रसिद्ध चितवनमा स्वदेशी वा विदेशी पर्यटक वन्यजन्तु हेर्न चितवनको राप्ती पारीको सौराहा पुग्ने र जङ्गल घुम्ने गर्थे तर अहिले बजारमै केटो लिएर गैँडा हिँडन थालेपछि आतङ्क छाएको छ ।
गँैडा त्यसमा पनि एक सिङ्गेका लागि प्रसिद्ध चितवनमा हात्ती वा जिपबाट एक÷दुई घन्टा जङ्गल यात्रा तय गरेपछि बल्लतल्ल गैँडा देख्न पाइन्थ्यो पहिले, तर अहिले चितवनको मुख्य बजारमै गैँडा र जङ्गली हात्ती आउन थालेका छन् ।
शुक्रबार विहानै नारायणगढ बजारबाट दुई किलोमिटरको दुरीमा पर्ने भरतपुर नगरपालिकाको बाह्रघरे क्षेत्रमा दुर्लभ गैँडा बच्चासहित देखा परेपछि स्थानीय र वन्यजन्तु संरक्षणकर्मी यसको कारण खोज्न थालेका छन् ।
जलवायु परिवर्तनले निकुञ्जभित्रका पोखरीहरू सुक्नु, घाँसे मैदान मासिनु, अनियन्त्रित सहरीकरण र मानवीय गतिविधि बढ्नाले वन्यजन्तु सहरी इलाकामा पस्न थालेको विज्ञहरू बताउँछन् ।
संरक्षणकर्मीले वन्यजन्तु संरक्षणको प्रयासले वन्यजन्तुको सङ्ख्या बढेकाले पनि यस्तो भएको बताएका छन । कारण जे भए पनि वन्यजन्तु अहिले मानव वस्तिमा निस्किएसँगै वन्यजन्तु र निकुञ्ज वरपरका वासिन्दा दुवै जोखिममा छन् ।
“जलवायु परिवर्तनको असरका कारण निकुञ्जभित्र जैविक विविधतामा नै असर गर्न थाल्यो । निकुञ्जका पोखरीहरू सुक्दै छन् भने घाँसे मैदान माँसिदै छ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नुभयो ।
“अहिले निकुञ्ज भित्रका गैँडा, हात्ती मानव बस्तीमा आउनुको प्रमुख कारण निकुञ्ज भित्र नाँसिदै गएको घाँसे मैदान र पुरिँदै गएका पोखरीहरू नै प्रमुख कारण हुन् ।”
उहाँले चुरे र महाभारत शृङ्खलामा अहिले भइरहेको अनियन्त्रित विकास योजनाले जथाभावी डोजर लगाउँदा त्यहाँको माटो पानीले बगाएर निकुञ्जका पोखरीहरू पुरिदै गएको पनि जनाउनुभयो ।
कुल ९२८ वर्ग किलो मिटर क्षेत्रफलमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पहिला २० प्रतिशत घाँसे मैदान भए पनि अहिले त्यो घटेर १० प्रतिशतमा सीमित भएको ढकालले जनाउनुभयो । तर अहिले त घाँसे मैदान १० प्रतिशतभन्दा पनि कम हुँदै गएको छ ।
निकुञ्जका पोखरी पनि सुक्दै गएका छन् । कतिपय ठाउँमा कृत्रिम पोखरी बनाइए पनि प्रभावकारी हुन सकेको छैन । हात्ती र गैँडा घाँसे मैदानमा चर्ने जनावर हुन् । दुवै जनावर पानीमा आहाल खेल्ने जनावर पनि हुन् ।
“पछिल्लो समय चोरीशिकार नियन्त्रणसँगै वन्यजन्तुको सङ्ख्या बढेको छ भने निकुञ्जमा घाँसे मैदान र जल क्षेत्र घट्दो छ अनि जनावर किन बाहिर नआउनु”, प्रमुख संरक्षण अधिकृत ढकालले भन्नुभयो । हरेक वर्ष आउने राप्ती नदीको बाढी र यसको प्रदूषणले घाँसे मैदान नष्ट गरेको हो ।”
अहिले १० वटा गैंडा निकुञ्जबाहिर मानवस्तीमा रहेको सूचना आफूसँग रहेको पनि प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिनुभयो । ती सबैको सुरक्षा जोखिमलाई विचार गरी निकुञ्जमा ल्याउने गृहकार्य गरिने उहाँले जनाउनुभयो ।
यसअघि निकुञ्जले पश्चिम चितवनको मङ्गलपुर र रामपुरबाट दुईवटा गैँडा उद्धार गरेर निकुञ्ज भित्र लगिसकेको छ । एउटा गैँडा त अझै नारायणगढ बजार नजिकै रहेको नगर वनमा आएर बच्चा जन्माएको छ । त्यो बेलाबेलामा बच्चासहित सहर पस्ने गरेको छ ।
गैँडामात्रै हैन निकुञ्जका हात्ती पनि मानव बस्तीमा निस्किएर सर्वसाधारणलाई दुःख दिइरहेको छ । मङ्सिर तेस्रो साता मात्रै निकुञ्जकै मध्यवर्ती क्षेत्रमा पर्ने माडी क्षेत्रमा पनि हात्तीले एकै दिन दुई महिलाको ज्यान लिएको थियो ।
यति मात्रै हैन, चालु आर्थिक वर्षको पाँच महिनामा बाघ, गैँडा, हात्ती जस्ता वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका निकुञ्जसँग तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा मृत्यु सङ्ख्या पाँच मात्रै थियो । यो अवधिमा वन्यजन्तुको आक्रमणबाट ३१ जना घाइते भएका निकुञ्जका प्रवक्ता गोपालबहादुर घिमिरेले जानकारी दिनुभयो ।
वन्यजन्तुले माडी, मेघौली, मङ्गलपुर, भरतपुर, नारायणगढ, नवलपरासीको गैंँडाकोट, रजहर लगायतका क्षेत्रमा दुःख दिइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट मानवबस्तीमा निस्किएका वन्यजन्तुले स्थानीयलाई आक्रमण गरी ज्यान नै लिन थालेपछि निकुञ्ज वरपरका वासिन्दा अहिले त्रसित छन् नै यसले वन्यजन्तुको सुरक्षामा समेत जोखिम वढेको छ ।
“कहिले हात्ती आउँछ र आक्रमण गर्छ थाहा छैन । गैँडा अहिले घरघरमै हिडेको छ”, स्थानीय श्रीप्रसाद दवाडी भन्नुहुन्छ, “पछिल्लो समय निकुञ्जका जनावर दिउँसो ंसाझ नै मानव बस्तीमा प्रवेश गर्न थालेका छन् । यसले स्थानीय वासिन्दा मात्रै हैन जनावर पनि जोखिममा छन् ।”
मध्यवर्ती क्षेत्र विकास समितिका पूर्वअध्यक्ष केशव देवकोटा भन्नुहुन्छ, “वन्यजन्तुका लागि पनि बासस्थान सुधार गर्नुप¥यो । वन्यजन्तुसँगै सर्वसाधारणमा देखिएको जोखिम पनि अन्त्य गर्नुप¥यो । ”
वसन्त पराजुली