चितवन, २२ पुस : भरतपुर महानगरपालिका वडा नं २२ पटिहानीमा आज आयुर्वेद औषधालय भवनको शिलान्यास गरिएको छ । महानगर प्रमुख रेनु दाहालले भवनको शिलान्यास गर्नुभएको हो । आयुर्वेदिक औषधालयको सुविधा सम्पन्न सो भवन सरकारको रु एक करोड ७८ लाख ७२ हजार लागतमा निर्माण गर्न लागिएको हो । दुईतले सो भवन एक वर्ष छ महीनामा तयार हुनेछ । 

सो अवसरमा महानगर प्रमुख दाहालले अबको विकास गाउँकेन्द्रित हुनुपर्ने बताउनुभयो । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खेललगायतका क्षेत्रमा विकासलाई प्राथमिकता दिएको बताउँदै उहाँले विकास हेर्न चाहनेले पश्चिम चितवनलाई हेर्न आग्रह गर्नुभयो । उहाँले गाउँको विकासलाई लक्षित गरी काम अगाडि बढाइएको र आफू पनि गाउँकै भएकाले गाउँको विकासलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । 

स्वास्थ्यमा अन्य असर नपर्ने स्वास्थ्य पद्धति आयुर्वेदको सेवा प्रवाह भरपर्दो भएकाले यसप्रति जनताको विश्वास बढेको उहाँको भनाइ थियो । “भरतपुर मेडिकल हब बनेको छ”, उहाँले भन्नुभयो, “भरतपुर अस्पताल केन्द्रीय अस्पतालमा पर्न सफल भएको छ । क्यान्सर अस्पतालले दक्षिण एशिया स्तरीय सेवा दिएको छ । यसलाई प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाइनेछ ।”

प्रतिक्रिया दिनुहोस !