काठमाडाँै, २६ पुस : नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयमा पुस्तकालयको स्थापना गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहयोग तथा नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा महासङ्घमा ‘पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र’ स्थापना गरिएको हो ।
आज एक कार्यक्रमबीच गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टले महासङ्घका अधयक्ष गोविन्द आचार्यलाई उक्त पुस्तकालय हस्तान्तरण गर्नुभयो । महासङ्घका अध्यक्ष आचार्यले पुस्तकालय पत्रकार तथा पत्रकारिताप्रति चाख राख्ने सबैलाई उपयुक्त हुने बताउनुभयो । उहाँले पत्रकारलाई पुस्तकालयले पढ्ने वातावरण बनाउने बताउनुभयो ।
सङ्घका अध्यक्ष भट्टले विश्वका ठूलाठूला पुस्तकालयको अनुसरण गर्दै महासङ्घमा पत्रकारलाई पढ्नका लागि पुस्तकालय निर्माण गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा यसलाई डिजिटल पुस्तकालयका रुपमा स्तरोन्नति गरिने बताउनुभयो । पे्रस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पढ्ने बानी छुटेकाका लागि पुस्तकालय महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा सङ्घका प्रवक्ता भूषण घिमिरे, सल्लाहकार डा हेमराज शर्मा र नेपाल पुस्तकालय फाउण्डेशनका उपाध्यक्ष मणिराम फुयाँलले पुस्तकालय पत्रकारका लागि पढ्ने र अनुसन्धान गर्न महत्वपूर्ण थलो हुने बताउनुभयो । सो अवसरमा पुस्तकालयका लागि आवश्यक पुस्तक, फर्निचर, कम्प्युटरलगायत सामाग्री हस्तान्तरण गरिएको थियो ।