काठमाडौँ, २७ पुस : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको विवेक र आचारण विपरीत काम गर्नेलाई न्यायालयमै राख्न नसकिने बताउनुभएको छ । 

सर्वोच्च बार एशोसिएशनले नवनियुक्त प्रधानन्यायाधीश राणालाई बधाई तथा शुभकामना दिन आज आयाजना गरेको कार्यक्रममा उहाँले संसदीय सुनुवाइका क्रममा आफूले न्यायालयको छविलाई माथि उठाउने ढङ्गले कुरा गरेको स्मरण गर्नुभयो । 

प्रधानन्यायाधीश राणाले भन्नुभयो, “न्यायको दीप सर्वोच्च अदालतबाटै प्रमाणित गरेर देखाउनु छ, संविधानले दिएको जिम्मेवारी, दायित्व र कर्तव्यबाट म कुनै पनि हालतमा विचलित हुन्न ।” बार एशोसिएशनले न्यायाधीश दीपकराज जोशीलाई न्यायपरिषद् सदस्यबाट हटाएकोलगायतका विषयलाई लिएर आफूले सर्वोच्चका सम्पूर्ण न्यायाधीशसँग छलफल गरी उपयुक्त निर्णय लिने स्पष्ट पार्नुभयो । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले चार वर्षको कार्यकालमा जनताको मन जित्ने गरी काम गर्न आग्रह गर्दै सरकारकातर्फबाट कुनै हस्तक्षेप गर्ने मनसाय नराखी सहयोग गर्ने बताउनुयभो । महान्यायाधिवक्ता अग्नि खरेलले न्यायालयका लागि सरकारी वकिल र नेपाल बार काउन्सिलका तर्फबाट सदा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले न्यायालयको सही कार्यमा सदा साथ दिने उल्लेख गर्दै वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई जिम्मेवारी नदिएकोप्रति ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस !