काठमाडौँ, २७ पुस : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालद्वारा लेखिएको पुस्तक ‘सिकाउने शैली’ लोकार्पण गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज उक्त पुस्तक लोकार्पण गर्नुभयो । उहाँले पुस्तक शिक्षाको क्षेत्रमा महत्वपूर्ण भएको बताउनुभयो । सिकाइका सन्दर्भमा धेरै विषयवस्तु समेटिएकाले पुस्तकले शिक्षाको सुदूर भविष्य कोरेको मन्त्री पोखरेलको भनाइ थियो । उहाँले लेखकले आफूले शिक्षामा रहँदा देखे भोगेका कुराको यथार्थ चित्रण गरेको बताउनुभयो । ‘‘गुणात्मक शिक्षा सरकारको मुख्य प्राथमिकता हो,” उहाँले भन्नुभयो, ‘‘विद्यार्थीको व्यक्तित्व र समाजको विकास गर्ने किसिमको शिक्षा चाहिएको छ ।’’
राष्ट्रिय योजना आयोगका सदस्य उषा झाले संस्मरणात्मक ढङ्गले लेखिएकाले पुस्तक पढ्दा आफू कक्षा कोठामा भएको अनुभूति भएको बताउनुभयो । उहाँले पुुस्तकमा लेखिएको सन्देश शिक्षक, अभिभावक र विद्यार्थीलाई बुझाउन सके शिक्षामा सुधार हुने बताउनुभयो । सचिव बरालले अध्ययनका क्रममा विभिन्न जिल्ला जाँदा आफूले देखेका यथार्थ कुरा लेखिएको बताउनुभयो । पुस्तक शिक्षण सिकाइको रुपमा महत्वपूर्ण हुने उहाँको भनाइ थियो । बरालले अहिले पनि शिक्षण सिकाइमा परिवर्तन नभएकाले सुधारको आवश्यकता रहेको धारणा राख्नुभयो ।
प्राडा जयराज आचार्यले नेपालमा शिक्षा क्षेत्रमा भएका गतिविधिलाई लेखकले कलात्मक ढङ्गले प्रस्तुत गरेको बताउनुभयो । “पुस्तक संस्मरणात्मक रुपमा लेखिएकाले पढ्न आनन्द आउँछ,” उहाँले भन्नुभयो । विदेशमा देखेका कतिपय कुरालाई नेपालको शिक्षण पद्धतिमा सिक्ने कुरा लेखकले उतारेको उहाँले बताउनुभयो ।