भक्तपुर, २८ पुस : राष्ट्रिय समाचार समिति भक्तपुरका संवाददाता रमेश गिरीलाई रु ३० हजार नगदसहित यस वर्षको ‘युवा पत्रकारिता पुरस्कार–२०७५’ बाट सम्मानित गरिएको छ । डेढ दशकदेखि भक्तपुरमा रहेर निरन्तररुपमा पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घले उहाँलाई सम्मान गरेको हो । सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उहाँलाई खादा ओढाएर नगदसहित सम्मानपत्रबाट सम्मान गर्नुभयो । 

सो अवसरमा पूर्वउद्योगमन्त्री बस्नेतले नेपालको काष्ठकला, मूर्तिकला, धातुकला, फर्निचरसँग विश्वमा कसैले प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै यस्ता कालीगढ भक्तपुरमा मात्रै हुनु गौरवको कुरा भएको धारणा व्यक्त गर्नुभयो । चीन र भारतमा मात्रै नभई विश्वमै नेपालको कला र सीपको प्रदर्शन एवं माग बढिरहेको उल्लेख गर्दै उहाँले नेपालमा भने पछिल्लो पुस्तालाई सीप हस्तान्तरण गर्न चुनौती आइरहेको बताउनुभयो । 

सांसद बस्नेतले सीपको मापन र तालीम एवं आधुनिक प्रविधिको हस्तान्तरण आवश्यक रहेको औँल्याउँदै स्वदेशी वस्तुको उपयोगिता निर्देशिका लागू गर्न आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले स्वदेशी फर्निचर उद्योगको विकासमा स्थानीय सरकारले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाल फर्निचर एवं फर्निसिङ व्यवसायी महासङ्घका उपाध्यक्ष सुजिल श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख सूर्यप्रसाद पोखरेल, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिलगायतले स्थानीय उद्योग व्यवसायको विकास र प्रवद्र्धन गर्नसके रोजगारी समस्या समाधान हुने विचार व्यक्त गर्नुभयो । 

सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठले फर्निचार तथा फर्निसिङ उद्योगमा सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा आन्तरिक राजस्व कार्यालयलाई कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरी स्थानीय सरकार र आन्तरिक राजस्वलाई मात्रै कर तिर्ने व्यवस्था गरिनुपर्ने माग राख्नुभयो । 

प्रतिक्रिया दिनुहोस !