काठमाडौं । कस्तो दिक्कलाग्दो भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा– ‘मेरो रगत–पसिना खर्च गरेर ल्याएको, तिर्छु भन्दा पनि तिर्न नदिई लुट्यो–लुट्यो’ भन्दै एउटा नेपाली युवक छाती पिटी–पिटी डाको छाड्छ । विदेशी आउछन् । भन्सारका मानिसले उसको हाते झोलाबाट सिगरेटको प्याकेट थुतेर ‘नो परमिसन, गो–गो’ भन्दै निकालिदिन्छन् । अनि, विदेशीले एयरपोर्टमै नेपाललाई सरापेर शुरु गर्छन्, आफ्नो पर्यटकीय यात्रा ।

केही दिनयता काठमाडौं विमानस्थलस्थित अन्तर्राष्ट्रिय टर्मिनलको आगमन कक्षमा देखिन थालेका दृश्य हुन् यी । अर्थात्, विदेशबाट अहिले दुई बोतल रक्सी पनि ल्याउन दिइएको छैन । विदेशी यात्रीको सामान जबरजस्ती खोसिएका छन् । ‘यो–यो सामान ल्याउन पाइने, यो–यो नपाइने’ भनेर सबले थाहा पाउने गरी सूचना दिइएको छैन । बिनासूचना विदेशीले कसरी थाहा पाउन्, तर यता अत्याचारै हुन्छ । भन्सारले आफ्नो नीतिअनुसार सामान जफत गर्न पाउछ । तर, जफत गरिएको सामानको रिसिप्ट दिनुपर्छ । भन्सारका कर्मचारीहरु विदेशीले रिसिप्ट माग्दा ‘नो–नो, गो–गो’ भन्दै हप्कीदप्कीका साथ बाहिर निकाल्न तम्सिन्छन् । ‘ड्युटी पे गर्छौं, हामीले रगत र पसिना बगाएर, घर–परिवारसंग खुशीयाली मनाएर पिउनलाई पो कोशेली ल्याएको त’ वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवा भन्छन्, भन्सारका कर्मचारीले ‘पाइदैन–पाइदैन’ भन्दै रुखो व्यवहारसाथ उनीहरुलाई झन् उत्तेजित बनाइरहेको देखिन्छ ।

केही दिन अघिसम्म चिनियाँ यात्रुलाई आफ्नै स्वदेशी उत्पादन सिगरेट ल्याउन दिइएको थियो । अहिले जफत हुन थालेको छ । प्रश्न के हो भने, यसले देशलाई के हित गर्छ ? राज्यले कस्तो राजश्व व्यवस्था गर्न खोजेको हो ? यसले भोलि पर्यटन आगमनमा असर पर्ने पक्का छ । र, नेपाल भ्रमण वर्ष २०२० लाई पनि गम्भीर प्रभाव पार्नेछ । ‘जनतामुखी सरकार’ भन्ने नारा छ, विदेशमा दुई–तीन वर्ष बसेर फर्किएका नेपालीको रक्सी खोसेर कस्तो ‘सरकार’ बनाउन खोजिएको हो ? एयरपोर्टभित्र विभिन्न स्टेक होल्डर छन् ।

स्क्रिनिङ, चेक र बडी सर्च गर्ने अधिकार पाएकाहरुले झोलाका झोला रक्सी पनि पास गरिरहेका छन् । जनतालाई सेवा र सुविधा दिइनुपर्नेमा, फाट्टफुट्ट लुकीचोरी पास पनि गरिदैछ । दैनिक डेढ–दुई सय बोतल रक्सी, सिगरेट जफत हुने गरेको छ । पीडित यात्रु भन्छन्, ‘वाइडबडीमा साढे चार अर्ब घुस खादा कही“, केही भएन । हामीले एउटा, दुईटा रक्सी ल्याउदा यत्रो मुस्किल ? ट्रकका ट्रक सुन पास भए, कोही बोलेनन् । एक बोतल रक्सी खोसेर बहादुरी देखाउने ?’ यस्तो भद्रगोल भएपछि कुन विदेशी फेरि नेपाल आउने र आफ्ना साथीहरुलाई नेपाल घुम्न पठाउने ?

प्रतिक्रिया दिनुहोस !