ओखलढुङ्गा, ७ माघ : नेविसङ्घको जिल्ला अधिवेशनको विषयलाई लिएर काङ्ग्रेसका नेताबीच कुटाकुट भएको हो । आज बिहान ११ बजे नेविसङ्घको १२औँ जिल्ला अधिवेशन उद्घाटनको कार्यक्रम थियो । अधिवेशनमा सहभागी हुन पार्टीका जिल्लास्थित अधिकांश नेता, कार्यकर्ता र नेविसङ्घका विद्यार्थी नेता कार्यक्रम स्थलमा पुगेका थिए । तर अधिवेशन शुरु हुनुअघि कार्यक्रममा आशन र भाषण गर्न कसलाई दिने वा नदिने भन्ने विषयमा विवाद भएको थियो । 

पार्टी सभापति शेरबहादुर देउवा पक्षले चुनावका बेला पार्टीलाई अन्तरघात गरेको आरोप लागेका नेतालाई आशनग्रहण नगराउने बताएको थियो भने रामचन्द्र पौडेल पक्षधरले सबैलाई समेटेर जान भनिरहेको थियो । विवादकैबीच नेविसङ्घका जिल्ला अध्यक्ष प्रदीप बानियाँले औपचारिक कार्यक्रम शुरु गर्न निर्देशन दिनुभयो । जिल्ला समन्वय समितिको सभाकक्षमा अधिवेशनको औपचारिक कार्यक्रम शुरु भएलगत्तै कार्यक्रम रोक्न माग गर्दै बाहिर रहेका नेता कार्यकर्ताले चर्को नारा लगाए । 

केन्द्रीय प्रतिनिधिलाई समेत बाहिर राखेर गरिएको अधिवेशन मान्य नहुने पौडेल पक्षधरको माग थियो । जिल्ला सभापति प्रदीप सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीले कारवाहीका लागि सिफारिश गरिएको भनिएका नेताहरुलाई प्रवेश गर्न दिइएको थिएन । 

नाराबाजी गर्दै कार्यक्रम स्थल पुगेका पौडेल पक्षधर नेताले जबर्जस्ती कार्यक्रम रोक्न माग गरेपछि कुटाकुटको स्थिति सिर्जना भएको हो । सो क्रममा ओखलढुङ्गा काङ्ग्रेसका पुराना नेता बालकृष्ण दाहालसहित पौडेल पक्षका दर्जनौँ नेता कार्यकर्ता कुटिएका छन् । कार्यक्रम रोकेर सहमतिमा अघि बढ्न माग गर्दै कार्यक्रमस्थल पुगेका नेता दाहाललाई कार्यक्रमका सभापतिसमेत रहेका नेविसङ्घ अध्यक्ष प्रदीप बानियाँ र पार्टीका जिल्ला उपसभापति तेजेन्द्र खनालले मुक्का प्रहार गर्दा चस्मा फुटेको छ । 

त्यस्तै नेत्री गोमा केशीले आफूलाई जिल्ला सभापति प्रदीप सुनुवारले कुटेको भन्दै प्रहरीलाई गुहारिन् । कार्यक्रम स्थलमा पुगेर टेबल उचाल्ने प्रयास गरेकी नेत्री केसीलाई सभापति सुनुवारले हुत्याएका थिए । त्यसबीचमा दुवै पक्षका नेता, कार्यकर्ताबीच होहल्ला र कुटाकुट भएको थियो । 

दाहाल अस्पताल भर्ना 

कार्यक्रममा कुटिएका नेता दाहाल अस्पताल भर्ना भएका छन् । टाउकामा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको काङ्ग्रेस नेता लीलाबल्लभ दाहालले बताउनुभयो । “शहीदका पुत्र काङ्ग्रेसको इतिहास बोकेको मान्छे कुटिनुभयो, उहाँलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ”, दाहालले भन्नुभयो । 
केन्द्रीय प्रतिनिधि नेविसङ्घका केन्द्रीय सदस्य पवन नेपालीले पार्टीको हस्तक्षेपका कारण अर्को निर्णय नहुँदासम्मका लागि अधिवेशन स्थगन भएको विज्ञप्ति जारी गरेका छन् । पार्टीभित्रको समस्या देखाएर नेविसङ्घमा हस्तक्षेप गरेकाले अधिवेशन स्थगन गरिएको नेपालीले बताउनुभयो । सभापति देउवा पक्षधरका नेता र नेविसङ्घका करीब आधाजति प्रतिनिधिले अधिवेशनलाई निरन्तरता दिएका छन् । 

उद्घाटनसत्र आज सकेर मङ्गलबार बन्दसत्रबाट नयाँ नेतृत्व टुङ्ग्याउने नेताहरुको तयारी छ । नेविसङ्घको विधानविपरीत पार्टीले ठाडो हस्तक्षप गरेका कारण समस्या उत्पन्न भएको नेता लीलाबल्लभको भनाइ छ । पार्टी प्रवक्ता राजकुमार ढुङ्गानाले भन्नुभयो– पार्टीले अन्य कुरामा हस्तक्षेप नगरेको तर कारवाही गरिएका नेताहरुलाई आशन र भाषण नदिने अडान लिएको बताउनुभयो । 
––– 
–पूर्णप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस !