चितवन, ७ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कुटपिट र करणी प्रयासमा परेका चेपाङ किशोरीलाई आज भरतपुर अस्पताल पुगेर भेट गर्नुभएको छ । आइतबार राप्ती नगरपालिका–१३ कान्दामा एक किशोरी र एक बालिकामाथि कुटपिट तथा करणीको प्रयास भएको थियो । तीमध्ये १७ वर्षीया किशोरीको भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अर्की १० वर्षीया बालिकाको टाउकाको शल्यक्रिया भइरहेको छ ।
घाइते भेट गरेपछि मुख्यमन्त्री पौडेलले भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण पौडेललाई उपचारमा विशेष ध्यान दिन निर्देशन दिनुभएको थियो । सो क्रममा उहाँले घाइते किशोरीको उपचार सरकारले गर्ने र दोषीमाथि कारवाही गरिने विश्वास दिलाउनुभयो । घाइतेसँगको भेटपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उहाँले अपराधी पहिचान भइसकेको र नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको बताउनुभयो ।
भरतपुर अस्पतालमा स्थापना गरिएको मदन भण्डारी ट्रमा सेन्टरको अवलोकन गर्दै उहाँले अस्पताल प्रदेश र सङ्घ कसको मातहतमा रहने टुङ्गो लागेपछि सेन्टरको विकास र विस्तारको काम अघि बढ्ने बताउनुभयो । उहाँले हिउँदे अधिवेशन शुरु भएको पहिलो दिन नै प्रदेश राजधानी र नामकरणको विषय उठान हुने र टुङ्गो लाग्ने जानकारी दिनुभयो ।
यसैबीच घाइतेको राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले भेट गरी आवश्यक सहयोग गर्ने बताउनुभएको छ । खर्चको अभाव भएको सुनेर आफू आएको भन्दै उहाँले अस्पतालले निःशुल्क उपचार गरिने बताएपछि दुवै घाइतेलाई भेट गरी फर्किएको बताउनुभयो ।
तालमेलले गुणस्तरीय शिक्षा
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अभिभावक, शिक्षक र विद्यार्थीको तालमेलले मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउनुभएको छ ।
नारायणगढमा रहेको आदिकवि भानुभक्त माविको सप्ताहव्यापी स्वर्ण महोत्सव समुद्घाटन तथा सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै उहाँले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुँदै जाँदा निजी विद्यालय आफैँ विस्थापित हुने बताउनुभयो । प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय हुनुपर्ने उहाँको भनाइ छ ।
सो विद्यालयमा सिभिल ओभरसियरसहितको पढाइ सञ्चालन हुँदै आएको छ । हाल विद्यालयमा एक हजार ६०० विद्यार्थी अध्ययनरत छन् । सो अवसरमा २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
–––