काठमाडौं । अजेयराज सुमार्गीले ल्याएको विदेशी रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेलगत्तै उनी अन्यत्रबाट पनि खेदिन थालेका छन् ।
उनले किनेको विशालनगरस्थित फ्रेञ्च दूतावासको जग्गाबारे अख्तियारमा पुगेको एउटा फाइल खुल्न थालेको छ । नेपालस्थित विदेशी कूटनीतिक नियोगले जग्गा बेच्नुप¥यो भने सरकारको अनुमति लिनुपर्छ । तर, फ्रेञ्च दूतावासका हकमा त्यो लागु भएन । बरु, उसले सडक विस्तारका क्रममा बाटोका लागि अलिकति जमिन छोडिदिने सम्झौता थियो ।

उसले यस्तो सम्झौता गरेपछि जग्गाको हालसाविक पनि ग¥यो । तर, बिक्रि गर्दा सरकारसँग स्वीकृति लिएन । बाटो पनि नछाडिकन चाबहिल मालपोतका तत्कालिन कामु प्रमुख बद्रीबहादुर कार्कीले सुमार्गीसँग मिलेर रजिष्ट्रेसन पास गरिदिए । यसबारे अख्तियारमा उजुरी प¥यो । पछि भूमिसुधार मन्त्रालयबाट अनुमति लिएको कागज बनाउन लगाएर लिखतमा अनियमितता गरियो । चलानी किताब हेर्दा जग्गा बिक्रि गरेपछि अनुमति दिएको पुष्टि हुन्छ । दीप बस्न्यातको पालामा जग्गा खरिदबिक्रिको उजुरी बद्रीबहादुर कार्कीले तामेलीमा हाल्न लगाए । बद्रीले दीपलाई मामाको साइनो लगाउने गर्थे । त्यही कारण जग्गासम्बन्धी धेरै मामिलामा दीपलाई फाइदा पु¥याए । किनभने, उनी पहिला आफँै पनि अख्तियारमा थिए ।

अख्तियारकै दबाबमा उपसचिव कार्यालय प्रमुख हुने चावहिल मालपोतमा शाखा अधिकृत भएकै बेला बद्रीले कामु पाए । चावहिल मालपोतमा बस्दा एकै दिन अवैध रुपमा कित्ताकाट, छूट जग्गा, सरकारी जग्गा दर्ता गरी एक वर्षमा १० करोडभन्दा बढी कमाएको उजुरी अख्तियारमा पुग्यो । पद्मा अर्याल भूमिसुधार मन्त्री भएपछि सर्लक्क सामान्य प्रशासनतिर सरुवा गए । सात वर्षदेखि कार्यरत खरिदार लक्ष्मण बस्नेतलाई मुद्दा फाँटमा राखी छूट जग्गा दर्ता गरेर मात्रै करोडौँ आर्जन गरेको उजुरीमा छ । एक वर्षअघि त्यस्तै छूट जग्गा दर्ता गर्दा चाबहिल मालपोतका झण्डै दर्जन कर्मचारीसहित ५४ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, बद्रीबहादुर अहिलेसम्म पन्छिएका छन् । छूट जग्गा दर्ताका लागि सरकारले नै सूचना जारी गर्नुपर्छ । त्यस्तो सूचना नगरी जग्गा दर्ता हुँदैन । त्यसका लागि सिडिओको अध्यक्षतामा जग्गा दर्ता समिति बनेर त्यसको सिफारिसका आधारमा हुने हो ।

प्रतिक्रिया दिनुहोस !