काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले भेनेजुयलामा गरेको हस्तक्षेपको विरोध गर्दै आफ्नो पार्टी भेनेजुयलाका जनताको पक्षमा रहेको उल्लेख बताएका छन् ।

नेकपाका अध्यक्ष दाहालले आज जारी गरेको विज्ञप्तिमा ‘भेनेजुयलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीहरुले गरेको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ ।’ उल्लेख गरिएको छ । प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली देश बाहिर रहेका बेला अध्यक्ष दाहालले विज्ञप्ति जारी गर्दै अमेरिकाले भेनेजुयलाका जनतालाई विभाजित बनाएर हिंसा चर्काउने तथा प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौति दिने काम गरेको आरोप लगाएका हुन् ।

उनले आफ्नो पार्टी प्रजातान्त्रिक तवरबाट चुनिएका राष्ट्रपति निकोल मादुरोलाई मान्यता दिनुपर्ने पक्षमा रहेको पनि बताएका छन् । उनले नै हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ–‘भेनेजुयलाको कार्यवाहक राष्ट्रपतिका रुपमा जुआन गुआइडोको स्वघोषणलाई अमेरिका र क्षेत्रीय राष्ट्रहरुले तत्काल मान्यता दिनुले प्रष्टरुपमा निर्वाचित राष्ट्रपतिविरुद्ध ठूलो ग्रान्ड डिजाइन भएको देखिन्छ । यो अरुको आन्तरिक मामलामा घुसपैठ गर्ने प्रयास मात्र नभएर कुको प्रयास हो । यो हामीलाई अस्वीकार्य छ ।’

press release

अमेरिकाले एक दशकदेखि भेनेजुयलामा अमानवीय आर्थिक बन्देजहरु लगाएर तथा सैनिक हस्क्षेपको त्राश देखाएर हिंसा र कोलाहल मच्चाउन खोजेको दहालको भनाई छ । भेनेजुयलामा मे २०१८ मा भएको चुनावबाट राष्ट्रपति पदमा मादुरो पुननिर्वाचित भएका थिए । उनले यसै महिना दोस्रो पदावधिका लागि सपथ खाएका हुन् । तर, उनलाई मानवअधिकार विरोधी भएको र अर्थतन्त्रलाई धराशयी बनाएको भन्दै आन्तरिक शक्ति र अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका छन् ।

यहीबीचमा विपक्षी नेता जुआन गुआइडोले बुधबार आफूलाई कार्यवाहक राष्ट्रपतिको रुपमा स्वघोषणा गरेपछि आन्तरिक संकट चुलिएको छ । अमेरिकाले उनलाई कार्यवाहक राष्ट्रपतिको मान्यता दिएपछि मुडुरोले अमेरिकासँग सम्पूर्ण कुटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका छन् । त्यसैले पनि अमेरिका भेनेजुयलासँग चिढिएको छ ।

प्रतिक्रिया दिनुहोस !