दोलखा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परिमाण दिने योजनामा लगानी गर्नु पर्ने बताउनु भएको छ । योजना बनाउदा आबश्यकतालाई प्राथमिकता दिनु पर्ने पनि उहाँको भनाई थियो । शुक्रबार दोलखाको भिमेश्वर नगरपालिकाको २३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अब काम गर्ने शैली पनि परिबर्तन गर्नु पर्ने बताउनु भयो ।
बिगतका शैलीले काम गर्न अप्ठ्यारो भएकोले पनि अब परिबर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले प्रदेश सरकार यो परम्पराबाट मुक्त हुने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘ परिबर्तन आफैंबाट गर्नुपर्छ, यसको सुरुवात प्रदेश सरकारले सुरु गरिसकेको छ ।’ मुख्यमन्त्री पौडेलले थप्नुभयो–‘ हामी काममा बिश्वास गर्ने मान्छे हौं, काम प्रति हाम्रो लगाव छ ।’ प्रदेशका १३ वटा जिल्लाहरुलाई समान व्यवहार गर्ने बताउँदै समान विकासको अबसर प्रदान गर्ने बताउनुभयो ।
प्रदेशले स्थानिय स्तरमा छलफल गरेर आबश्यकता अनुसार बिकाशका योजना तयार गर्ने जानकारी दिनुभयो । विगतमा हचुवाका भरमा बजेट विनियोजन गरेको भन्दै अव छलफल गरेर परिणाम दिने क्षेत्रमा मात्र लगानी गर्ने स्पष्ट पार्नुभयो ।
नेपालमा कृषिको धेरै सम्भावना रहेपनि अधिकाँस खेतबारी बाँझो रहेको बताउँदै यसलाई अधिकतम प्रयोगमा ल्याउनुपर्ने उहाँको भनाई थियो । योजना बैंकमा नराखी बजेट विनियोजन नहुने बताउँदै आफ्ना योजनाहरु योजना बैंकमा राख्न सुझाव दिनुभयो । अहिले प्रदेशमा कर्मचारी पर्याप्त नभएपनि सकेसम्म धेरै काम गरिरहेको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो–‘ ६० प्रतिशत कर्मचारी छैनन्, ४० प्रतिशत कर्मचारीका भरमा हामीले काम गरिहेका छौं ।’ दोलखाको बिकाशमा प्रदेश सरकारले विभिन्न योजना बनाईरहेको जानकारी दिदैं दोलखालाई फिल्म सिटी बनाउने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो –‘फिल्मसिटी बनाउनका लागि काम सुरु गर्नुस् प्रदेश सरकारले सहयोग गर्छ । ’

प्रतिक्रिया दिनुहोस !