काठमाडौं । प्रतिनिधिसभा बैठकले बहुप्रतीक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको अवरोधबीच प्रतिनिधिसभाले सो विधेयक बहुमतबाट पारित गरेको हो ।
अवरोधलाई छिचोल्दै मर्यादापालकको ‘स्कर्टिङ’ मा रोस्ट्रम पुगेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक निर्णयार्थ संसद्समक्ष पेस गर्नुभएको थियो ।कांग्रेसले विरोध गरिरहँदा पनि सभामुख कृष्णबहादुर महराले छलफलको प्रक्रिया अघि बढाउनुभएको थियो । सभामुख महराले सदनमा विधेयक प्रस्तुत गर्न शिक्षामन्त्री पोखरेललाई समय दिए पनि प्रतिपक्ष कांग्रेसले रोक्न ठूलो प्रयास गरेको थियो ।
प्रतिपक्षको निरन्तर अवरोधपछि वेलमा पुगेर रोकिएका शिक्षामन्त्री पोख्रेल चलाखीपूर्ण तवरले सांसद बस्ने कुर्सीको पछाडिबाट रोस्ट्रममा पुग्नुभएको थियो। अबरोधकाबीच रोस्ट्रममा पुगेपछि मन्त्री पोखरेलले विजयी भावमा हात हल्लाउनुभएको थियो ।
लगत्तै शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभयो । तर, विपक्षीले नाराबाजी गरिरहेका थिए भने सत्तारुढ दल रोस्ट्रममा जान सक्ने अवस्था थिएन । त्यसैले, छलफलमा भाग लिने कोही भएनन् । लगत्तै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भन्ने बुँदाहरू सभामुख महराले निर्णयार्थ प्रस्तुत गर्नुभयो । समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।