काठमाडौं । मुखमा लगाउने माड छैन, कुन्नि कता लगाउने के भन्याजस्तो ! धान फल्ने जग्गामा धमाधम घर उम्रन थाले÷उद्योगधन्दा चल्न थाले । परिणाम यस्तो कि बिहान–बेलुका चुलोमा चाहिने घ्यु, तेल, चामल, गहुँका उद्योग धराशायी हुने अनि उच्च घरानियाँ र सोखिन वर्गले पिउने बियर र रक्सी उद्योगचाहिँ मालामाल । मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने चाउचाउ, बिस्कुटजस्ता उद्योगका मालिक प्रगतिपथमा लम्कने तर खाध्य उद्योग चलाउनेले चाहिँ टाउकामा हात राखेर आफैंलाई धिक्कार्नुपर्ने !

अहिले हामी कस्तो स्थितिमा बाँचिरहेका छौं भन्ने जान्न काफी हुन्छ, नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले हालै सार्वजनिक गरेको आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदन । ५७ जिल्लाको वस्तुस्थिति अनुसन्धान गरी हालै बैंकले १७ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन केलाउँदा मुलुकको यस्तो चित्र देखिएको हो । प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षभन्दा ३३ प्रतिशतले बढी ९ करोड ६६ लाख लिटर बियर उत्पादन भएको छ । यही अवधिमा बिहान–बेलुका चुलोमा बसाल्नुपर्ने चामलको उत्पादनमा चाहिँ ६६ प्रतिशतले ह्रास आएर ७ सय ३९ मेट्रिक टनमा खुम्चिएको छ । जबकि चामलतर्फ हाम्रो उत्पादन क्षमता ७५ सय मेट्रिकटन हो । यही अवधिमा ६५ लाख १५ हजार लिटर रक्सी उत्पादन भएको तथ्यांक भेटिन्छ ।

प्रतिवेदनअनुसार बियर उद्योगले ८६ दशमलव ३ प्रतिशत, प्रशोधित चिया ८२ दशमलव ४, सिमेन्ट उद्योगले ७४ र चाउचाउ उद्योगले ७३ दशमलव ४ प्रतिशत उत्पादन क्षमता उपयोग गरिरहँदा चामल उद्योगको उत्पादन घटेर १४ दशमलव ४ प्रतिशत र गहुँ उद्योगचाहिँ ४४ दशमलव १ प्रतिशतमा खुम्चिएको छ । यस्तै, वनस्पति घ्यूको उत्पादन १९ दशमलव १ प्रतिशतले ह्रास आउँदा धानको उत्पादन अघिल्लो आर्थिक वर्षभन्दा १ दशमलव ६ प्रतिशतले घटेको देखिन्छ । बिस्कुट ६ दशमलव १ प्रतिशत र चकलेटको उत्पादन ९ दशमलव ३ प्रतिशतले बढेको छ ।

नेपालीहरू फाष्टफुडप्रेमी हुँदा र खानामा रक्सी, बियर, चाउचाउ रोज्दाको परिणामचाहिँ उही घुमिफिरी रुम्जाटार भनेझैं भएको छ । यही अवधिमा औषधि उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा १ दशमलव ६ प्रतिशतले बढेको रहेछ । यही वर्ष बियर उद्योगमा लगानी गर्नेमा थपिएका छन् धनाढ्य विनोद चौधरी । नेपाल आइस नामक बियर उद्योग चलाउँदै आएका उनैको समूहले यही वर्ष खुकुरी रम उत्पादन गर्दै आएको नेपाल डिस्टिलरी १ अर्ब ६१ करोडमा खरिद गर्न भ्याएको छ ।

प्रतिक्रिया दिनुहोस !