सुर्खेत, १८ माघ : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा राजपत्र अनङ्कित प्रथम तथा द्वितीय श्रेणीका कर्मचारीको ३० कार्यदिने सेवाकालीन तालीम बिहीबारबाट शुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रतिष्ठान प्रशिक्षण काठमाडौँद्वारा आयोजित ‘कार्यालय व्यवस्थापन तथा सचिवालय सीप’ विषयक ३० कार्यदिने तालीममा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले तालीमले कर्मचारीको वृत्ति विकासमा सघाउ पु¥याउने बताउनुभयो ।
“अनुभव, ज्ञान र सीपका लागि हरेक व्यक्तिलाई तालीम आवश्यक छ”, उहाँले भन्नुभयो, “व्यक्तिको दक्षता र क्षमता अभिवृद्धिले मात्र मुलुकको विकासमा सहयोग पुग्छ ।” उहाँले कर्मचारीका लागि सञ्चालित ३० कार्यदिने सेवाकालीन तालीमले कर्णाली प्रदेशले लिएको दीर्घकालीन सोच र लक्ष्य हासिलमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कर्मचारी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक शैलेन्द्र गिरीले गत वर्षदेखि सातवटै प्रदेशमा कर्मचारीको सेवाकालीन तालीम शुरु गरिएको जानकारी दिनुभयो । “घरदैलोमा सेवाकालीन तालीम लिन पाउँदा राजपत्र अनङ्कित प्रथम तथा द्वितीय श्रेणीका कर्मचारी खुशी छन्”, कार्यकारी निर्देशक गिरीले भन्नुभयो, “दैलोमै अवसर उपलब्ध गराउँदा यहाँका कर्मचारीको यो ३० कार्यदिनको तालीमबाट रु एक करोड ५० लाख खर्च बचेको छ ।” उहाँका अनुसार प्रतिष्ठानले अबदेखि सबै कर्मचारीलाई सेवाकालीन तालीम दिनेछ ।
पहिलो पटक सुर्खेतमा सञ्चालित सो तालीममा कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका १०० कर्मचारी सहभागी रहेको तालीम कार्यक्रम संयोजक लिलु गिरीले जानकारी दिनुभयो । विगतमा लाखौँ खर्च गरेर सेवाकालीन तालीम लिने बाध्यता खेपिरहेका कर्मचारीले घरदैलोमै अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन् ।