– लक्ष्मीप्रसाद पंगेनी –

इन्टरनेटको जालो संसारभर फैलिदो छ । इन्टरनेटले संसारलाई सानो गाउँमा परिणत गरिदिएको छ । विश्वको जुन सुकै कुनामा भएको घटना पनि इन्टरनेटको माध्यमबाट तुरुन्त थाहा पाउन सकिन्छ । घर, कार्यालय, विद्यालय, बैंक, अस्पताल, अनुसन्धान, सुरक्षा निकाय, विमानस्थल, होटल, व्यापार व्यवसाय, यातायात, कृषि, संचार जस्ता क्षेत्रमा इन्टरनेटको प्रयोग बढ्दो छ । विश्वमा साम्राज्य फैलाइरहेको इन्टरनेटले नेपाललाई प्रभाव नपार्ने त कुरै भएन । इन्टरनेट जस्तो सूचना प्रविधिको पछिल्लो विकासले मानिसलाई धेरै कुरामा सहज तुल्याए पनि यसको दुरुपयोग हुँदा सामाजिक विकृति तथा अपराध बढ्ने गरेको छ । पछिल्लो समयमा इन्टरनेट सुविधाको सुलभ पहुँचका साथै फेसबुक ट्वीटर, यूवट्युव, ह्वाट्सअप, इस्टाग्राम, भाइवर, इमो जस्ता सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षणका कारण विशेषगरी बालबालिका तथा युवायुवतीहरु साइबरको कुलतबाट नराम्रोसँंग प्रभावित भएको पाइन्छ । बालबालिकाहरु साइबर कुलतमा कसरी फस्छन् ? यसको समाधान के हुन सक्छ ? यो आलेख यिनै प्रश्नहरुको सेरोफेरोमा केन्द्रित हुनेछ ।

साइबर कुलत र साइबर अपराध

मोबाइल, आईप्याड, ट्याब तथा ल्यापटपमार्फत एकान्तमा बसेर आवश्यकता भन्दा बढी इन्टरनेट चलाउनु नै साइबर कुलत हो । यो लागुपदार्थ दुर्व्यसनी कै अर्को रुप हो भने पनि हुन्छ । लागूपदार्थ दुव्र्यसनीले शरीरका मुटु कलेजो, मृगौला, फोक्सो जस्ता भित्री अंगहरुलाई असर गर्दै मानिसलाई मृत्युको मुखमा पुर्याउँछ भने साइबर कुलतले मानिसलाई चोरी, अपहरण, ,बलात्कार, ब्ल्याकमेलिङ जस्ता विभिन्न आपराधिक क्रियाकलापतर्फ डोर्याउने गर्दछ । लागुपदार्थ दुव्र्यसनीले जस्तै साइबर कुलतले पनि बालबालिका तथा युवायुवतीहरुलाई नै बढी प्रभावित गरेको पाइन्छ । एकान्तमा बसेर एकोहोरो इन्टरनेट चलाउँदा चलाउँदै उनीहरु बिस्तारै साइबर कुलतमा फस्दछन् । साइबर कुलतमा फसेपछि उनीहरु एकोहोरिने, आफ्नो अध्ययन वा जिम्मेवारीलाई नै बिर्सने गर्दछन् ।
इन्टरनेटमा राम्रा नराम्रा दुवै किसिमका सामग्रीहरु पाइन्छन् । बालबालिका तथा युवायुवतीहरु राम्रा कुरामा भन्दा नराम्रा कुरामा बढी आकर्षित हुने गर्दछन् । इन्टरनेटले विश्वभरीका मानिसहरुलाई आफ्नो संजालमा अनुबन्ध गरेको हुन्छ । विभिन्न सामाजिक संजाल चलाउनेक्रममा बालबालिका तथा युवायुवतीहरु विभिन्न आपराधिक व्यक्तिहरुको सम्पर्कमा आउँछन् । त्यस्ता व्यक्तिहरुको सम्पर्कमा आएसंगै उनीहरु यौनजन्य क्रियाकलाप, अपहरण, ब्ल्याकमेलिङ, पासवर्ड ह्याकिंग, ठगी, कल बाइपास, इमेल÷एसएमएस धम्की, चरित्र हत्या, अफवाह फैलाउने, फिसिङ तथा तथ्याङ्क चोरी जस्ता विभिन्न आपराधिक क्रियाकलापहरु गर्न पुग्छन् जसलाई साइबर अपराध भनिन्छ । कम्प्युटर एवं नेटवर्कको प्रयोगद्वारा नियम विपरित कार्य गर्नु नै साइवर अपराध हो । पछिल्लो समयमा साइबर कुलत र साइबर अपराध निकै चुनौतीको रुपमा देखापरेको छ ।

शुरुमा रमाइलो, पछि समस्या

कतिपय अभिभावकहरुले विद्यालय पढ्दै गरेका आफ्ना छोराछोरीलाई खुसी बनाउन वा रमाइलोको लागि उनीहरुलाई मोबाइल, आईप्याड, ट्याब, ल्यापटप जस्ता आधुनिक उपकरणहरु खरिद गरिदिनुका साथै विभिन्न सामाजिक संजालको ‘आइडी’ खोलीदिएर मनोरन्जन गराउने गर्दछन् । त्यस्तै कतिपय बालबालिका तथा युवायुवतीहरुले देखासिकीका कारण त्यस्ता आधुनिक उपकरणहरु किनिदिन आफ्ना अभिभावकहरुलाई दवाव नै दिने गर्दछन् । आफ्ना छोराछोरीहरुको दवाव थेप्न नसेर सकिनसकी भए पनि अभिभावकहरुले त्यस्ता आधुनिक उपकारण किनिदिनु पर्ने हुन्छ । विदेशबाट आउँदा होस् वा बालबालिकाहरुको जन्म दिनमा होस, त्यस्ता आधुनिक उपकरणहरु उपहार स्वरूप ल्याइदिने चलन नै चलेको छ । कतिपय विद्यालय तथा कलेजहरुमा विद्यार्थी आकर्षण गर्नको लागि ‘फ्री वाइफाई’ भनेर विज्ञापन गरेको पनि पाइन्छ ।

शुरुमा इन्टरनेट रमाइलो जस्तो लागे पनि पछि गएर जीवनका लागि निकै ठुलो घातक बन्ने गरेको छ । इन्टरनेटप्रेमी बालबालिका तथा युवायुवतीहरूलाई साइबर अपराधीहरूले विभिन्न प्रलोभनमा पारी आर्थिक आयआर्जनको आधार बनाउनुका साथै यौनजन्य क्रियकलापमा संलग्न गराउने, देह व्यापार गर्न लगाउने र अपहरण गरी जीवन नै सङ्कटमा पार्ने गरेको पाइन्छ । सामाजिक सञ्जाल फेसबुक र इमो लगायत विभिन्न सञ्जालबाट सम्बन्ध बढाउने, चिनजान गर्ने, बालबालिका तथा महिलालाई आर्थिक प्रलोभन देखाई फकाउने, भेट्न बोलाउने र अन्त्यमा होटल वा एकान्त स्थानमा बोलाइ बलात्कार गरी भाग्ने गरेको घटना सार्वजनिक भैरहेका छन् । बालबालिकाले पनि नराम्रा कुराप्रति बढी रुचि राख्ने भएकाले साइबर अपराधीहरुले बालबालिकालाई नै उपयोग गर्ने गरेको देखिन्छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि अरुहरूको चरित्र हत्या गर्नेदेखि आर्थिक लाभ लिनसमेत बालबालिका प्रयोग गर्ने गरेको पाइएको छ । एक साथीबाट अर्को साथीसँंग सम्बन्ध जोड्न लगाई अश्लील भिडियो खिचेर ‘पोर्नो’ वेभसाइटलाई बिक्री गर्ने, भिडियो सार्वजनिक गरिदिने धम्की दिई रकमको माग गर्ने र यौनजन्य क्रियाकलाप गर्न बाध्य पार्ने घटना बृदि भैरहेको छ । फिलिपिन्स र भारतमा सामाजिक सञ्जालकै दुरूपयोगबाट बालबालिकाहरू बलात्कारको शिकार हुने गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस्तै युरोपमा बालबालिकालाई आत्मघाती हमला गराउन आईएस नामक लडाकु समूहले यस्तै सञ्जाल प्रयोग गर्ने गरेको बताइएको छ ।
के छ कानुनमा ?

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ ले विद्युतीय स्वरूपमा कुनै गैरकानुनी विषयवस्तुको प्रकाशनलाई कसुर मानेको छ । उक्त दफाको उपदफा १ र २ मा यस्तो लेखिएको छ ः विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेः ( १) कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैंयाँसम्म जरिवाना वा पाँच वर्षम्म कैद वा दुवै सजाय हुनेछ । (२) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसूर पटक पटक गरेमा त्यस्तो कसूर वापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ ।
अब के गर्ने ?

इन्टरनेट सुविधा सूचना र ज्ञानको सागरकोरुपमा प्रयोग गर्न जाने राम्रै हुन्छ, नजाने वा दुरुपयोग गरे कुलतमा फँसिन्छ । दःुखको भुमरी र आँसुको भेल बन्न सक्छ । इन्टरनेट र सामाजिक सञ्जाल दुरूपयोग गर्ने कार्यबाट बालबालिकाहरूलाई टाढै राख्नुपर्छ । मोबाइल, आईप्याड र ट्याब लिएर एकान्तमा बस्न मन पराउने बालबालिकाहरुको आनीबानी तथा क्रियाकलापमा ध्यान दिनुपर्छ । यदि कुनै बालबालिका एकान्तमा बसेर इन्टरनेट चलाउन मन पराउँछ भने उ साइबर कुलत र साइबर अपराधमा फस्ने सम्भावना उच्च रहन्छ । इन्टरनेट प्रयोगमा आम अभिभावक सचेत हुनैपर्छ । क्षणिक रमाइलो र साथीभाईको लहलहैमा इन्टरनेटको दुरुपयोग गरेमा प्रहरीको फन्दामा पर्न सकिने र जीवनभर पछुताउनु पर्ने कुरा बालबालिकालाई बुझाउन सक्नुपर्छ । फितलो कानुन र कम सजायका कारण अपराधीहरु घट्नुका साटो बढ्दै गईरहेकोले अपराधको बढ्दो प्रवृति र प्रकृति अनुसार हालको विद्यमान कानुनमा समयानुकुल परिवर्तन आवश्यक छ ।
(लेखक जीवनज्योति मा.वि.,कावासोतीका शिक्षक हुन्)

प्रतिक्रिया दिनुहोस !