काठमाडौं । विप्लव नेतृत्वको नेकपाले साइबर सेनाको अवधारणा ल्याएकोमात्र होइन, काम पनि थालेको दावी गरिएको छ । प्रत्येक विषय र घटनाक्रमको विद्युतीय प्रविधिबाट अध्ययन, विश्लेषण र निश्कर्ष निकाल्नका लागि उसले तयार पारेको विभिन्न डफ्फा शहरी भेगदेखि विदेशसम्म क्रियाशील भएको दावी सो पार्टीको विदेश विभागका जिम्मेवारले गरेका छन् ।

त्यसक्रममा सूचनाहरू अनलाइन न्युजपोर्टलदेखि फेसबुक, ट्वीटर, इमो, इन्स्टाग्राम र ह्वाट्सहरूबाट संकलित गरिने र निश्कर्षचाहिँ पार्टीले तोकेका नेतासहितको बैठकबाट निकाल्ने गरिएको, खेल्नुपर्ने भूमिका, पार्टीको धारणा, व्यक्तिका अपराध पहिचान गर्नेजस्ता काम त्यो विधिबाट हुन थालेको छ । अहिले फौजी जिम्मेवारीमा रहेका कार्यकर्तालाई मोबाइलको प्रयोगमा कडाइ गरिएको छ ।

मोबाइलमार्फत व्यक्तिको खोजी गरिँदा राज्यसँग पहिचान गर्ने संयन्त्र भएका कारण सम्पर्कको वैकल्पिक माध्यमका रूपमा भाइबर वा अन्य सामाजिक सञ्जाललाई अपनाउने, सामाजिक सञ्जालका अकाउन्टहरू गोप्य नाममा राख्ने, संवाद सांकेतिक तवरलेमात्र गर्ने क्रमको थालनी भएको छ । उता, माघ ९ गते प्यूठानमा देशभरिका जनसरकारको भेला राखिएको थियो । त्यहीअनुसार रोल्पाबाट मान्छेहरू प्यूठान झरे पनि । तर, राज्य तयारीबारे भरपर्दो सूचना पाएपछि तत्कालै योजना बदलेर अकै भूगोल र अर्कै शैलीमा कार्यक्रम सम्पन्न भएको ती नेताको दावी छ । ‘यो काम पनि साइबर युनिटबाटै भएको हो’, उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस !