काठमाडौं । नेपाल दूरसञ्चारबाट लिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको मोबाइल टेलिकमको वार्षिकोत्सवकै दिन काटिएको छ । उनले चलाउने मोबाइल समयमै रिचार्ज नभएका कारण अवरुद्ध भएको हो । सो कुरा आफैंले टेलिकमकै वार्षिकोत्सव समारोहमा सुनाएका हुन् । टेलिकम कम्पनीमा रुपान्तरण भएको १५ वर्ष पुगेको अवसरमा हिजो (माघ २२ गते) वार्षिकोत्सव समारोहको आयोजना गरिएको थियो । कार्यक्रम ११ बजे शुरु हुने र मन्त्री पनि सोही समयमा आउने भनिए पनि करिब ४५ मिनेटपछि मात्र आइपुगेका थिए ।

शुभकामना मन्तव्य दिने क्रममा उनले भने, ‘बिरामी भएका कारण समयमै आउन सकिनँ, हिंड्ने बेला मोबाइल हेर्दा एमडीका धेरै फोन आएका रहेछन् । फोन गर्न खोज्दा पैसा नतिरिएका कारण निषेध गरिएको पो भन्छ । विभागीय मन्त्रीकै फोन काटिएको सुनेर दर्शकदीर्घामा हाँसोको फोहरा छुटेको थियो । मन्त्रीको शपथ खानासाथ वर्षौंदेखि शुल्क नतिरी बसेको प्रधानमन्त्री कार्यालय र आफ्नै मन्त्रालयको फोन २५ लाख र ८ लाख तिराएपछि मात्र लाइन खोल्न लगाएका उनले सो अवसरमा टेलिकममा विदेशी रणनीतिक साझेदार ल्याउँदा उसैले खुरुखुरु स्वदेशी पँुजी लिएर जाने हुन्छ । त्यसको सट्टा स्वदेशी पँुजी निर्माणका लागि स्वदेशी लगानीकर्तालाई नै पहिलो प्राथमिकता दिइने पनि बताए ।

अघिल्ला वार्षिकोत्सवमा उच्च अधिकृतहरु, मन्त्रालयका नोकरशाह तथा कलाकारहरुलाई समेत सहभागी गराएर कहलिएका तारे होटलमा गरिने साँझको कक्टेल पार्टी यसपालि रोकिएको पनि उनले बताएका थिए । यस्ता पार्टीमा खर्च हुने रकमले कुनै सामाजिक सेवाको काम गरिने उनको घोषणा थियो । टेलिकममा थालिएको फोर जी विस्तार, अप्टिकल फाइबर बिछ्याउने आदि अर्बाैं बजेटका कामबारे संसदीय समिति र कम्पनीकै इञ्जिनियरले अनावश्यक दबाव र सोधपुछ गरी हैरान पारेका पनि उनले सुनाए । भने, ‘मेरै मोवाइल काटिंदा पनि मैले अनौठो मानेको छैन, त्यसैगरी कर्मचारीले पनि पद्धति बसाउने गरी इमान्दारीसाथ काम गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस !