नेपालगञ्ज, १ फागुन ।  बाँकेको राप्तीपारिको विकट नरैनापुर गाउँपालिकामा नेपाली मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ ।

विकासका क्रममा विगतमा निकै पछाडि परेको सो गाउँपालिकाका स्थानीय यसअघि भारतीय मोबाइल फोनको प्रयोग गर्न बाध्य थिए । नेपाली टेलिफोन सेवा प्रदायक कम्पनीले सो गाउँपालिकामा मोबाइलको टावर र इन्टरनेट सेवा विस्तार गरेपछि अहिले त्यहाँका स्थानीयको हातहातमा नेपाली मोबाइल फोन देख्न सकिन्छ ।

सो गाउँपालिकाका प्रशासकीय अधिकृत दलबहादुर बस्नेतका अनुसार, गाउँपालिकाको सबै वडामा अहिले इन्टरनेटको पहुँच पुगेको छ । नेपाल टेलिकमले चौबिसै घण्टा मोबाइल नेटवर्कको व्यवस्था गरेपछि गाउँपालिकाको सेवा प्रवाहमा समेत सुधार आएको छ । इन्टरनेट बिस्तारसँगै गाउँपालिकाले इ–बिडिङमार्फत टेण्डर हाल्ने व्यवस्था मिलाएको बस्नेतले बताउनुभयो ।

चितुवाको छालासहित दुई जना पक्राउ 

नेपालगञ्जमा चितुवाको छालासहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

प्रदेश नं ५ को प्रहरी अनुसन्धान समूहले नेपालगञ्ज– ४ बसपार्क क्षेत्रबाट चितुवाको छालासहित रोल्पा लिवाङ नपा–१ का चन्द्रबहादुर घर्ती र स्मृति गाउँपालिका–२ का आइते विष्ट मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका आरोपीका बयानका आधारमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक बोधराज रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !