काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिको लागि जनआन्दोलन र जनयुद्धमा समावेश भएका सबै कम्युनिष्ट पार्टीवीच एकिकरण गर्नु जरुरी रहेको बताउनुभएको छ ।
आज जनयुद्ध दिवसको अवसर पारेर नेकपाले आयोजना गरेको जनआन्दोलन र जनयुद्धका शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशलाई समाजवादउन्मुख बाटोमा अगाडी बढाउन र विद्यमान परिवर्तनको रक्षाको निम्ति हिजोका सबै आन्दोलनकारी कम्युनिष्ट शक्तिहरु एक हुनुपर्ने बताउनुभएको हो ।
सहमति र सहकार्यबाट देशमा राजनीतिक आन्दोलनले सफलता पाएको स्मरण गर्दै एक्लै हिड्दा राजनीतिक सफलता प्राप्त नहुने र देशको विकास पनि गर्न नसकिने भन्दै विकास र समृद्धिको राष्ट्रिय एजेण्डामा सबै मिलेर अगाडी बढ्नुपर्ने उहाँको भनाइ छ । नेकपाले जनयुद्ध दिवस मनाएसँगै यसले वैचारिक र राजनीतिक रुपमा मात्र नभएर भावनात्मक रुपमा पनि हिजोका दुइ पार्टीलाई एकै ठाउँमा ल्याएको भन्दै पार्टी एकतालाई मजबुद बनाउने बताउनुभयो ।
नेकपाका महासचिव विष्णु पौडेलले आजको राजनीतिक परिवर्तनमा जनयुद्ध, जनआन्दोलनका शहिदहरुको महत्वपूर्ण भुमिका भएकोले उहाँहरुको योगदानलाई सम्मान गर्दै निष्ठापूर्वक शहिदको सपना पुरा गर्न लाग्ने बताउनुभयो ।
तत्कालिन नेकपा(माओवादी)ले २०५२ फागुन १ गतेदेखी जनयुद्ध प्रारम्भ गरेको दिनको सम्झनामा नेकपाले जनआन्दोलन र जनयुद्धका शहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम गरेको हो । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरणपछि पहिलोपल्ट औपचारिक कार्यक्रमसाथ जनयुद्ध दिवस मनाइएको छ । यसले नेकपालाई भावनात्मक, संगठनात्मक, राजनीतिक र वैचारिक रुपमा पार्टीलाई अझ बलियो बनाउने नेकपाका नेता, कार्यकर्ताले बताएका छन् ।
Comment Here!