काठमाडौं । पत्याउनुहुन्छ, तपाईं–हामीले विदेशबाट आउँदा एयरपोर्टमै हराए भनी खोज्न छाडिएका झोलाहरू कहाँ छन् ? अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूलाई सोध्नुस् त, त्यस्ता लगेजहरूले त्यहाँको दुईवटा कोठा टम्म भरिएका छन् ।
काठमाडौं विमानस्थलमा अवतरण हुने जहाजबाट आउने सामानहरूको व्यवस्थापन गर्ने २० वर्षदेखिको रटान जस्ताको तस्तै हुँदा यात्रु आउने, सामान हराउने समस्या ज्युँका त्युँ छ । विमानस्थल व्यवस्थापनले समयमा सामान नल्याइदिने वायुसेवाहरूलाई नकस्दा यात्रुहरू जहिल्यै काठमाडौं ओर्लिनासाथ झगडियाको रुप धारण गर्न बाध्य छन् । बजेट एअरलाइन्सहरूले पैसाको लोभमा प्यासेन्जर ओसार्ने तर झोला उतै झार्ने गर्दा गरिबका सन्तान मर्कामा परेका हुन् ।
खाडी राष्ट्रबाट बीस दिनको छुट्टीमा आयो । काठमाडौंभन्दा टाढाको घर । न झोला कुरेर बस्नु, न माया मार्नु, रित्तो हात जाँदा एकातिर पारिवारिक तनाव अर्कोतिर झोाल कुरी बस्दा छुट्टी सकिने पीर । २–४ दिनमै आजित भएर उनीहरू भन्सारलाई सराप्दै आफ्नो बाटो लागिसकेका हुन्छन् ।
यता, महिनौंको ताकेतापछि आइपुगेका अर्काको सामान डढाई दिन पनि भएन । यस्तो गर्दा अहिले राख्ने ठाउँको अभाव हुन थालेको छ । विमानस्थलभित्रैको दुई कोठा त्यस्ता बेवारिसे सामानले भरिइसकेका छन् । त्यसलाई के गर्ने भनेर यो साता मात्रै हाकिमहरूबीच छलफल भएको छ । तर, कुनै निश्कर्ष निस्किसकेको छैन ।
बुटिक भनिएको नेपालको विमानस्थल व्यवस्थापनले बेवास्ता नगरेको मात्रै हैन, कतिपय विदेशी विमान कम्पनीहरूले पनि लापरवाही गरेका छन् । त्यसमध्येको हो सलाम एयर । मस्कटबाट काठमाडौंमा यात्रु ल्याउने, तर सामान नल्याउनेमा कहलिएको वायुसेवा । गएको दशैं–तिहारमा त उसले नेपालीका सामान एकथोपै ल्याएन । अस्ति २७ गते पनि ४० जनाको झोला नआएपछि यात्रुहरू उसका कर्मचारीलाई कुट्न ठिक्क परिसकेका थिए । तर, जसोतसो बचे ।