काठमाडौं । अगाडि–पछाडि भिआइपीको सवारी, आफूचाहिँ ध्यानमा मस्त । अब यस्तो गर्दा पनि पुलिसको फन्दामा परिने खतरा छ ।
भिआइपीको सवारीलाई बेवास्ता गरेका कारण दुईवटा गाडीका मालिक र चालकको खोजीमा प्रहरीे जुटेको छ । गएको माघ २५ गते, शुक्रबार विहान ९ बजे प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा बालुवाटारबाट सर्वोच्चका लागि निस्किए । सरकारले सेक्युरिटी थ्रेटका दृष्टिले राष्ट्रपति, प्रधानमन्त्रीपछि प्रधानन्याधीशको सुरक्षामा बढी सतर्कता अपनाउने गरेको छ । तर, त्यसदिन जब चोलेन्द्र श्रीमान्को सवारी पुतलीसडक आइपुग्यो, एउटा प्राइभेट नम्बर प्लेटको गाडीले अस्वाभाविक गतिविधि देखायो ।
प्रधानन्यायाधीशको सवारीमा सेना र नेपाल प्रहरीको अगुवा पछुवा गाडीले एस्कर्टिङ गरिरहेको हुन्छ । त्यसमध्ये अगुवाले बाटो क्लियर गर्छ भने पछुवा टोली अत्याधुनिक हातहतियारसहित सतर्क अवस्थामा रहन्छ । त्यसदिन बा. १८ च. ९४३४ नम्बरको कारले प्रधानन्यायाधीशलाई बाटो छाडेन । गाडीभित्र बसेका सादा पोशाकका सुरक्षाकर्मीले झ्यालबाट मुन्टो निकालेर ‘साइड लगा, साइड लगा’ भन्दै कराए । तर, झन् प्रधानन्यायाधीशलाई अगाडि बढ्नै नदिने शैलीमा उक्त गाडीले बाटो छेक्यो । ड्युटीमा रहेको ट्राफिकले तत्कालै अर्को लेनतर्फ आइरहेका गाडीहरूलाई रोकेर प्रधानन्यायाधीशलाई अगाडि बढ्ने बाटो बनाइदिएपछि सवारी त चल्यो । तर, फन्दामा पर्ने भयो, बा १८ च ९४३४ नम्बरको कार ।

प्रधानन्यायाधीश सर्वोच्चमा ओर्लिनासाथ सुरक्षा टोलीले ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर घटनाबारे अवगत गरायो । ट्राफिकले तुरुन्त अलस्टेशन अलर्ट गर्दै गाडीको खोजीलाई तीव्र पा¥यो, तरपनि न गाडी, न गाडीका धनी वा चालक, कोही फेला पारेको छैन । यातायात कार्यालयसँग गाडीको विवरण माग्ने क्रममा ललितपुरको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामार्फत आर्थिक कारोबार गरी खरिद भएको र ऋण चुक्ता नभएका कारण नामसारी नभएको पत्ता लाग्यो । यसपछि ललितपुरको एउटा प्रहरी युनिटले उक्त नम्बरको गाडी फाइनान्स गराउने ऋणी खोजिरहेको छ ।

‘घटना ठूलो होइन, तर नियत राम्रो भएन’, अनुसन्धानमा जुटेका एक प्रहरीले बताए । यस्तै भयो, केही दिनअघि प्रदेश नं. २ का प्रमुख सचिव दीपक सुवेदीको हकमा पनि । बा १ झ ४४० नम्बरको सरकारी गाडीमा बालाजुबाट महाराजगञ्जतर्फ गइरहँदा उक्त गाडीलाई बा २ ख ४६०३ नम्बरको यात्रुवाहक बसले ठक्कर दियो । प्रदेश सरकारका प्रमुख सचिव, अर्थात् केन्द्रका सचिवजत्तिकुै हैसियत उनीसँग रहेका निजी सुरक्षा अधिकारीले तत्कालै स्थानीय प्रहरीलाई आफूहरू सवार रहेको गाडीलाई ठक्कर दिएको खबर गरे । तर, गाडी अहिलेसम्म नियन्त्रणमा आएको छैन । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस !