प्रतिनिधिमुलक तस्विर

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिपूर्वको नेपाली भूमि फिर्ताको माग गरेको छ।

२०३ वर्षअघि आजकै दिन (मार्च ४) मा बेलायतले छलछामपूर्वक प्रस्ताव गरेको सुगौली सन्धिमा नेपालले करकापमा परेर हस्ताक्षर गरेको थियोे।

नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले एक विज्ञप्ति मार्फत भारतको कब्जामा अझै नेपालको ५७७३६ वर्ग किलोमिटर जमिन रहेको बताएका छन्।

यो बिषय संसदमा छलफलको विषय बनाउन माग गर्दै उनले नेपालको संसदले कहिले बोल्छ भनेर प्रश्न समेत गरेका छन् ।

नेपालले मार्च चारमा तत्कालीन राजप्रतिनिधि मार्फत मकवानपुर छाउनीमा बेलायती प्रतिनिधिलाई सुगौली सन्धिको प्रति बुझाएको दिन भएको र यसको वैधतामाथि केही अहम् प्रश्नहरू उठेको समेत नेपालले उल्लेख गरेका छन्। हेर्नुहोस् उनको विज्ञप्ति

सन् १८१६ मार्च ४ मा सुगौली सन्धिमा नेपालले हस्ताक्षर गरेयता २०३ वर्ष बितिसकेका छन् । बेलायतले सन् १९४७ र १९४८ मादक्षिण एसियाली क्षेत्र छाडेपछिको समयको गणना गर्ने हो भने पनि ७३ वर्ष बितिसकेका छन् । यति लामो अन्तरालमा विश्वबाट उपनिवेशको अन्त्य भैसकेको भए पनि नेपालको ५७७३६ वर्ग किलोमिटर क्षेत्रमा सन् १९४७ अगस्त १५ देखि भारतीय उपनिवेश कायम रहँदै आएको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगत १५ वर्षदेखि सुगौली सन्धिपूर्वको नेपाली भूमिमा भारतले कायम गर्दै आएको उपनिवेशको अन्त्यको माग गर्दै आएको छ । आज नेपालले तत्कालीन राजप्रतिनिधि मार्फत मकवानपुर छाउनीमा बेलायती प्रतिनिधिलाई सुगौली सन्धिको प्रति बुझाएको दिन यसको वैधतामाथि केही अहम् प्रश्नहरू उठाउँदै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाल सरकारसमक्ष सो सन्धिपूर्वको जमिन फिर्ता लिन आग्रह गर्दछ ।

१. नेपाल र बेलायतबिच सुगौली सन्धि हुँदा समान हैसियत भएका व्यक्तिहरूबिच हस्ताक्षर हुनुपर्नेमा नेपालका तर्फबाट राजाले सहीछाप गर्नुपर्ने भनिएको छ भने बेलायतका तर्फबाट लेफ्टिनेन्ट कर्णेलले हस्ताक्षर गरेको छ ।

२. टेबुलमा बसेर सन्धिमा हस्ताक्षर गर्नुपर्नेमा बेलायतका तर्फबाट सुगौलीको सैनिक छाउनीमा हस्ताक्षर गरी नेपालका राजाले १५ दिनभित्र प्रतिहस्ताक्षर गर्नुपर्ने भनी हलकारामार्फत् तत्कालीन नेपाल दरबारमा सन्धिपत्र पठाइएको थियोे ।

३. नेपालका राजाले १५ दिनभित्रमा हस्ताक्षर गर्नुपर्ने भनिएकोमा ९३ औं दिनमा मात्र राजप्रतिनिधिमार्फत् सन्धिपत्र बुझाइएको थियोे ।
४. बेलायतले सन् १९४७ जुलाई १८ को इन्डिया इन्डिपेन्डेन्स एक्ट) अनुसार आफ्नो औपनिवेशिक क्षेत्र परित्याग गरेकोमा नेपाली भूमि पनि सन् १९४७ अगस्त १४ र १५ मै स्वतन्त्र भैसकेको हो ।

५. नेपाल र भारतबिच सन् १९५० जुलाई ३१ मा भएको शान्ति र मैत्री सन्धिको धारा १ र ८ अनुसार सुगौली सन्धि रद्द भैसकेको अवस्था छ ।
६. नेपाल र बेलायतबिच सन् १९५० अक्टोबर

३० मा भएको सन्धिको प्रस्तावना र धारा ८ अनुसार सुगौली सन्धि रद्द भैसकेको छ ।

७. भारतको संविधानको धारा १ (३)(ग) अनुसार नेपाल र भारतबिच सुगौली सन्धिको अनुमोदन हुने गरी कुनै सन्धि नभएको हुँदा उक्त नेपाली भूमिमाथि भारतको कुनै अधिकार रहँदैन ।

माथिका सन्दर्भहरूबाट नेपाल र भारतबिच सुगौली सन्धि कायम रहनु अवैध हो र सुगौली सन्धि बेलायत सँग भएको हुँदा भारतसँग मान्य हुने कुनै आधार रहँदैन । तसर्थ हामी सर्वसाधारण नेपाली नागरिकहरू के – कति कारणले ५७७३६ वर्ग किलोमिटर नेपाली भूमि भारतको कब्जामा रहेको हो भन्ने जान्न उत्सुक छौँ । यो विषयमा सरकार मौन रहनुको कारण जान्न पाउनु सार्वभौमसत्तासम्पन्न नेपाली जनताको अधिकार हो । तसर्थ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यो विषयलाई सार्वभौम संसद् मा लगेर बहस र निर्णय गरियोस् भन्ने माग गर्दछ ।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
२०१९ मार्च ४

प्रतिक्रिया दिनुहोस !