विनु तिम्सिना
मोरङ। पूर्व प्रधानमन्ती तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको विषय टुंग्याउन नदिने जुनसुकै षड्यन्त्र परास्त गरिने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रदेशको पार्टी एकताको प्रस्ताव तयार पारिसकेको र एक दुई दिनमा समग्र पार्टी एकताको प्रस्ताव टुंगिने बताउनु भएको हो । उहाँले पार्टी एकता हुन नदिने, गठबन्धन हुन नदिन र स्थायी सरकार निर्माण हुन नदिन लाग्ने शक्तिहरुनै पार्टी एकता नहोस् भनेर लागिरहेको भएपनि सबै षड्यन्त्रहरु परास्त गरिने बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल कति जना थप्ने, को हटाउने भन्ने विषय प्रधानमन्त्रीको विषय भएको पनि बताउनु भयो । संचारमाध्याममा आएजस्तो मन्त्री हटाउने या थप्ने भन्ने विषयमा प्रधानमन्त्री र आफूबीच कुनै छलफल नभएको पनि उहाँले बताउनु भयो । विप्लव नेतृत्वको नेकपालाई राजनीतिक र प्रशासनिक दुवै तरिकाले नियन्त्रण गर्न सरकार गम्भिर रहेको पनि प्रचण्डले बताउनु भयो । उहाँले राजनीतिक हिसावले सहमतिका साथ हल हुनेसम्म सरकारले प्रयत्न गर्ने र प्रशासनिक ढंगले हल गर्न पनि प्रयास गर्ने बताउनु भयो । देशले ठूलो बलिदानपछि बनेको संविधान, त्यसअनुसारको बामपन्थीको सरकार भएको समयमा अस्थिरता निम्त्याउन खोेज्नु अतिवाद भएकोले त्यसलाई नियन्त्रण गर्न गम्भिर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

तत्कालिन अवस्थामा हतियार व्यवस्थापन र सेना समायोजन गर्दा कसैले लुकाएर राखेको या क्यान्टोनमेन्टबाट चोरेर लगेको हतियारको खोजी गर्न त्यसबेलै सरकारलाई सूचना दिएको प्रचण्डको भनाइ छ । उहाँले राजपा सरकारमा आउने वा समर्थन फिर्ता लिने विषयमा पनि आफूलाई जानकारी नभएको बताउँदै प्रचण्डले संविधान संशोधन भने संघीय समाजवादी फोरमसँग सरकार गठनको समयमा भएको सहमति अनुसार हुनसक्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !