काठमाडौं । गत बुधबार ताप्लेजुङको काफ्लेपाटी, तारेढुंगा भीरमा पर्यटनमन्त्रीसहित सातजना सवार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा तनावले काम गरेको बुझ्न सकिन्छ । त्यही दिन मन्त्री रवीन्द्र अधिकारी काठमाडौं फर्किएर पोखराको एउटा विवाहमा जसरी पनि पुग्नुपर्ने थियो । आङछिरिङ त्यही बेलुकी फ्रान्स र मन्त्रीको भोलिपल्ट बर्लिन जाने सेड्युल थियो । त्यसमाथि एउटा कामका लागि एक ठाउँ गएका थिए, फर्किनुअघि अर्कै गन्तव्य रोजे । पश्चिमी वायुले नेपालमा एकदमै असर पु¥याउँछ । त्यसले अकस्मात हिमपात निम्त्याउँछ ।

३७ सय ९४ मीटरको उचाईमा रहेको पाथिभरा आफैँमा यस्तो ठाउँ हो, जहाँ बादलसँग लुकामारी खेल्दै पुग्नुपर्छ । कारण हो, छिन–छिनमा मौसम बिग्रिरहने । अन्य उडानहरू धनकुटा हुँदै त्यहाँ पुग्नुपरे पनि मौका छोपेर फुत्तफुत्त छिर्नुपर्ने स्थिति हुन्छ । दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टर इक्विरल हो, फ्रान्स निर्मित । त्यसका पाँच वटा सिरिज छन् । सबैभन्दा पावरफुल बिथ्रीई मोडलको हो, जो ताप्लेजुङमा खसेको छ ।

चुहानडाँडाबाट काठमाडौं फर्किन ऊसँग ६० प्रतिशत इन्धन मौज्दात थियो । एक त तेलको लोड बढी, यात्रु पनि धेरै । त्यसमाथि पावर रिजर्भबिना बादलमा छिरेको । अर्कोतिर भिएफआरबाट आइएफआरमा गएको । अर्थात्, प्रत्यक्ष आँखाले हेरेर हैन, उपकरणको इशारामा चल्नुपर्ने अवस्था । एउटा पाइलटलाई अपरेशनको प्रेसर, तापक्रमको उतारचढाव, आफ्नो मालिक र मन्त्री पनि चढेको अवस्थामा रिस्क । पाइलटलाई उडाउने काममा मात्र सिमित नराखेर यता जाआँै, उता जाऔँ भन्ने दबाब । फेरि त्यही दिन पाथिभराको तल सुकुटेमा सिम्रिक एयरको हेलिकोप्टर उड्न नसकेर बसिरहेको ।

मौसमले आकाश छोपिएको कारण पुजारी, सुरक्षाकर्मीहरूले हेलिकोप्टर नउडाउन भनिरहेका थिए । पुजारी डिल्ली आचार्यले मन्त्रीको मुहार हेरेर भन्दै थिए, ‘तपाईंलाई दोष छ, खड्गो छ †’ अधिकारीचाहिँ वाइडबडीकै कुरा होला भनेर जवाफ दिँदै थिए, ‘हैन, हैन म फेस गर्छु ।’ चिसो बढेका कारण रवीन्द्रले नै चिया खाऔँ भनेका हुन् । तर, चिया पाक्दा नपाक्दै आकाश केही मात्रामा खुलेजस्तो भयो । पाइलट हेलिकोप्टरमा बसिरहेका थिए । उपसचिव युवराज दाहालले ‘लु–लु गैहालौँ’ भनेर हतार गराए । यसपछि रवीन्द्र र आङछिरिङ सँगै जसो हेलिकोप्टरमा छिरे ।

तर, प्राविधिक तथा नागरिक उड्डयनका निर्देशक धु्रवदास भोछिभोय आकाशतिर हेरेर हेलिकोप्टर चढ्न अन्कनाइरहेका थिए । ‘पाकेको चिया त खाएर जानुस्’ भन्दै पुजारी परैबाट कराए । मन्त्रीले ‘चिया त खाने नि’ भन्दै हेलिकोप्टरमै मगाए । पुजारीले नै लगेर दिएको चिया आधाभन्दा बढी पिइसकेपछि पाइलटले हेलिकोप्टरको इञ्जिन स्टार्ट गरेजस्तो आवाज आयो । पुजारी जुठा गिलास बोकेर मन्दिरतिर फर्किए । उनले सुनाएका छन्, ‘गिलास राखेर मन्दिरभित्र छिरौँ कि भनी सोच्दै थिएँ, ‘ड्याङ्ग’ आवाज आयो । एकछिनमा तारेढुंगामा धुँवाको मुस्लोमात्रै देखियो ।’
जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस !