
काठमाडौं । विदेशबाट आउने यात्रुमाथि मदिरा परिमाणको सीमितता कायम गरिएपछि जफत भएका २९ सय पाँच बोतल रक्सी लिलामीको तयारीमा छ । ती बोतलमा २३ सय लिटर रक्सी छन् । संसारभरका ५० भन्दा बढी ब्राण्डका रक्सी विमानस्थल भन्सारले जफत गरेको हो । लिलामी निकाल्ने क्रममा न्युनतम बजार मूल्यको ५५ प्रतिशत कायम गरिने छ । त्यसमा १२ सय अन्तशुल्क र अलग्गै भ्याट पनि लाग्छ ।
जस्तो कि, ब्ल्याक लेबलको बजार मूल्य ६ हजार छ भने त्यसको न्युनतम मूल्य तोक्दा २७–२८ सय पर्छ । त्यसमा मूल्य बढाबढ हुन्छ । बढी रकम बोल्नेले खरिद गर्न पाउने नियम छ । विमानस्थलले यात्रुले ल्याउने मदिरामा नियन्त्रण थालेपछि एक महिनाबीचमा जफत परिमाणमा निक्कै कमी आएको छ । शुरुवाती दिनमा दर्जनौँ मदिरा जफत हुन्थे । तर, यो सातादेखि दिनमा एक–दुईवटामात्र समातिन थालेको बताइन्छ ।
उता, वैशाखसम्ममा विमानस्थलको क्षेत्र विस्तार सम्पन्न भएपछि ड्युटीफ्री पुनः सञ्चालनमा आउने सम्भावना रहेको अधिकारीहरु बताउँछन् । अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक सरदर ११ हजार यात्रुको आगमन हुन्छ । तर, यात्रुको चाप, स्वागत र बिदाई गर्ने मानिसहरुको उपस्थितिलाई धान्न नसक्ने स्थिति छ । त्यस्तै, ३३ सय मिटरको फैलावट रहेको रनवेलाई ३६ सय मिटर बनाउने काम पनि जारी छ ।