काठमाडौँ, २४ फागुन : एक सय नवौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालका लागि चिनियाँ राजदूतावासले शुभकामना आदानप्रसाद तथा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

दूतावासले आज आयोजना गरेको सो कार्यक्रमको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उद्घाटन गर्नुभयो । मन्त्री थापाले नेपालको संविधानले राज्यको प्रत्येक निकायमा महिलालाई ३३ प्रतिशत हक सुनिश्चित गरेको बताउनुभयो । उहाँले नेपालको संविधानले महिलालाई कानूनीरुपमा हकअधिकार दिएको र कार्यान्वयन गर्नका लागि सरकारले प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाल–चीनबीच सम्बन्ध र सहकार्य विगतदेखि नै रहँदै आएको र दुई मुलुकको विकास र मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि कायम राख्ने बताउनुभयो । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिलाको अर्थतन्त्र, राजनीति तथा समानता आदिका लागि दिएको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै दुई मुलुकले महिलाको विकासका लागि सहकार्य गर्दै आएको र सन् २०१८ मा २६० महिलालाई चीन सरकारले तालीम प्रदान गरेको जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारको क्षेत्रमा निकै काम गरेको आफूले पाएको राजदूत यान्छीले बताउनुभयो । उहाँले नेपाली महिलाको कामप्रतिको दृढताको प्रशंसा गर्नुभयो । सो अवसरमा राजदूत यान्छीले नेपाली गीतमा नृत्यसमेत गर्नुभएको थियो । विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेत्री तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस !