– रजमान तामाङ –
प्राथमिक तहमा भर्ना भएको बर्ष नै मैले पहिलोपटक गणेश सरको नाम सुनेको थिएँ । बालमस्तिष्कमा एक दन्त्य कथाको पात्र झैँ थियो त्यो नाम । आफनै बाउको तमसुक च्यातेर किसानहरुलाई ऋण मिनाहा गरेका कम्युनिस्ट नेताको रुपमा उनी दन्त्य कथाको पात्र झैँ लाग्थ्यो मलाई । त्यो दुर्लभ मान्छे हेर्ने र भेट्ने रहर दश बर्ष पछि पुरा भएको थियो ।
२०५६सालको सम्सदिय निर्बाचनले हाम्रो भेट जुराएको थियो । म त्यतिखेर शिव सरको अगुवाइमा चुनावी प्रचारमा निस्केको थिएँ । तत्कालीन नेकपा (माले) को चुनाबी अभियानमा खटेदेखी जीवनको निकै अप्ठेरा दिनहरूमा मलाई एक अभिभावकको रुपमा गणेश सरको अतुलनीय स्नेह रहिरह्यो ।
२०५६को निर्वाचन पछि हामी धेरै माओवादी आन्दोलनमा जोडियौँ । पूर्णकालिन कार्यकर्ताको रुपमा माओबादी आन्दोलनमा लागेका नुवाकोटका हामी धेरै कार्यकर्ताको जीबन रक्षा बारे उहाँको चिन्ता पछिल्लो दिनसम्म कायम रह्यो । युद्दकालमै बेपत्ता भएका अर्जुलाल श्रेष्ठको ( हालसम्म बेपत्ता ) खोजिमा गणेश सरको अभियान सामन्य थिएन । रक्षा सचिब देखी दरबारका सचिबहरुलाई ठाडै हप्काएर मान्छे नमार्न उहाँले गर्नु भएको पहलको म आफैं साक्षी हु ।
नुवाकोटको पुर्बी क्षेत्रमा सप्पन्न परिबारमा जन्मनुभएका उहाँ बिद्यार्थी कालदेखी नै कम्युनिस्ट आन्दोलनमा हुनुहुन्थ्यो ।
भरत पुडासैनीले फेसबुकमा लेख्नु भएझैं मैले चिनेको भेटेको मान्छे मध्य उहाँ सबैभन्दा असल मान्छे हुन भन्नेमा दुईमत छैन । निस्ठा र इमान्दारीता गणेश सरको पर्याबाची शब्द हो । पन्चायत कालमै निकै लोकप्रिय बामपंथी नेताको रुपमा दरबारले उहाँलाई हरियो घास नदेखाएको होइन । तर त्यस्ता तुच्छ अबसर त्यागेर देश र जनताको पक्षमा आफुलाई सतिसाल झैँ उभ्याउनु भयो उहाँले । बरु जेल र अकथनीय यातना रोज्नु भयो । रास्टिय पन्चायतमा जनपक्षीय उमेदवार बनेर नुवाकोटको एक चर्चित र लोकप्रिय नेताको छबि बनाउनु भयो । त्यही लोकप्रियता उहाँको त्याग र बलिदानको कदर स्वरुप २०४८मा भएको संसदीय निर्बाचनमा लोकप्रिय मतका साथ बिजय हासिल गर्नु भयो । नुवाकोटको पुर्वी भेगमा शैक्षिक जागरणमा उहाँको योगदान सामन्य थिएन ।
ब्यक्तिगत रूपमा म प्रति उहाँको स्नेहको कुनै सिमा थिएन । लाबाङ काण्डपछि मैले प्रचण्ड पथिय पाखान्डको विरुद्ध बिद्रोह गरेको थिएँ । त्यतिखेर पनि राज्यले मलाई धरपकड गरिरह्यो । त्यतिखेर गणेश सरको अभिभावकत्व बिना म बाच्न सक्ने अबस्था थिएन । अन्य राजनीतिक नेताहरु पनि मेरो जीबन रक्षाको लागि पहल गर्नु भयो । एक राजनीतिक अभिभावकको रुपमा उहाँको म प्रतिको स्नेहकै कारण हो मृत्युपर्यन्त प्रत्यक्ष वा अप्रत्यक्ष मेरो सम्वाद गणेश सरसङ्ग जारी नै रह्यो । प्रत्येक भेटमा स्नेहका साथ सोध्नुहुन्थ्यो देशको राजनीति के हुँदै छ ?म हासेर जबाफ दिन्थे इन्द्रको अगाडि स्वर्गको बयान कसरी गरुँ ?
मैले धेरै बैचारिक छलफल गणेश सरसङ्गै गरेँ । म पहिचानबादको बिरोधी हँु । पहिचहानवाद पुँजीवादले वर्गसंघर्ष कमजोर पार्न ल्याएको हतियार थियो । गणेश सरको यो अडानसङ्ग म आज पनि बिस्वस्त छु । श्रमिक वर्गीय आन्दोलन ध्वस्त पार्न पछिल्लो समय सैद्धान्तिक रूपमा पहिचाहन महिलावाद जस्ता विषय पुँजीवादी थिङट्याङ्कहरुले निकै मिहेनतसाथ बिकास गरेको अबधारणा हो । प्रचण्ड बाबुराम मंडलीले यसलाई नेपालमा प्रयोग गरेर यहाँको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न भुमिका खेले ।
पछिल्लो समय कमरेड बिप्लबले नेतृत्व गर्नु भएको नेपाल कम्युनिस्ट पार्टीले नेपालको जातीय सबालमा उठाउनु भएको सैद्धान्तिक मान्यताप्रति उहाँ सहमत हुनुहुन्थ्यो ।
कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठा र देशभक्ति गणेश सरको जीबनका अभिन्न पाटाहरु हुन । यसलाई अलग गरेर गणेशसरको जीवन बुझ्न सकिदैन अर्थात अपुरो हुन्छ ।उहाँको अर्को उल्लेखनीय पक्ष केछ भने महान् क्रान्तिकारी भनिनेहरु अप्ठेरो बेला साथ दिएका लडेका कार्यकर्तालाई अलपत्र पारेर नातागोताको पक्षमा राज्यशक्ति दुरुपयोग गरिरहेका छन । अनुचित लाभ नै उठाउने हो भने उहाँ आफैं पनि सक्षम हुनुहुन्थ्यो भने सहोदर भान्जा अर्जुन नर्सिङ केसी लामो समय सता राजनीतिको केन्द्रमा हुँदा पनि त्यस्तो कुनै अबसर लिन नसकिने कुरा थिएन होला । तर राजनीतिमा निर्वाचित गाबिस अध्यक्ष रहिसकेका आफ्ना छोरा राजकुमार पन्डित आफैं जापनमा मिहेनत गर्न जाने कुरा कुरा के सामन्य सबाल हो ?
आफुभन्दा लोकप्रिय भए त्यो पात्रलाई सिध्याउने र अरुको मृत्युमा आफ्नो जीवन देख्ने कम्युनिस्ट आन्दोलनको घातक क्यानसर रोगको शिकार बनाइयो उहाँलाइ । जसलाई अमेरिकी काण्ड भनिन्छ । आफ्नो सन्तानलाई छात्रवृत्तिको लागी दूतावासको ढोका कुर्नेहरुले नै उहाँको राजनीतिक जीवन समाप्त पार्न यो प्रकरणलाई हतियार बनाउने काम गरे । आज हेर्दा लाग्छ ति पात्रहरु एकनाथ ढकालको कार्यकर्ता हुन । जसको खर्चपर्चमा देश बिदेशको यात्रा गरिरहेका छन ।
जीबनका अन्तिम घडीमा समेत आफ्नो अबिचलित यात्रामा रहनु भएका उहाँलाई सम्झने धेरै सबालहरु छन । भण्डारी सरको धर्मपत्नीको निधनमा भएको भेटपछि प्रत्यक्ष भेट्न सकिएन । फोनमा केहि समय पहिले भेट्ने कुरा भएको थियो तर परिस्थितिका जटिलताका कारण भेट हुनै नपाई दिवङगत हुनुभएको खबर सुनियो । अन्तिम बिदाइमा समेत सहभागी हुन सकिएन । आदरणीय गुरु ! तपाईंले जीवनको अमुल्य समय कठोर जेल हिरासत यातनाका बाबजुद निर्माण गर्नु भएको कम्युनिस्ट आन्दोलन र नुवाकोटको शैक्षिक जागारण अभियान तपाईंले छोडेर जानुभएका अमुल्य निधिहरु हुन । सत्य, इमान्दारिता र निष्ठाको सतिसाल तपाईंले जगाउनु भएको कम्युनिस्ट आन्दोलन निकै चुनौतीका बीच झन झन ऐतिहासिक आबस्यकताको विषय बन्दै छ । हामी त्यही यात्रामा अबिचलित लागिरहन्छौ । अल बिदा आदरणीय गुरु ।