रौतहट । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘विखण्डनकारी शक्तिलाई संविधान स्वीकार्न लगाइ मूलधारको राजनीतिमा ल्याएको’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन।

शनिबार रौतहटको गरुडामा आयोजित आमसभामा बोल्दै प्रचण्डले मधेसीभूमीलाई आधार बनाएर विखण्डनकारी अभियान चलाइरहेका सिके राउतको समूहलाई संविधान, राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता स्वीकार्न लगाएर राजनीतिको मूलधारमा ल्याएको भन्दै ओलीको प्रशंसा गरेका हुन। ‘हिजोमात्र प्रधानमन्त्रीको विशेष पहलमा तराईमा विखण्डनको पक्षमा लागेको व्यक्तिलाई समूहलाई मूलधारमा ल्याइएको छ। \अलगाववाद र पृथकतावादको कुरा गर्ने व्यक्ति र समूहलाई पनि संविधानको पक्षमा जाने बनाएको छ’ प्रचण्डले भने, ‘नेकपाको सरकार भएमा देशमा पृथकवादी बढ्छन् भन्ने आरोप लाग्ने गरेको थियो त्यो गलत साबित भएको छ। देशलाई एक बनाउने जिम्मेवारी नेकपाको हो भन्ने देखिएको छ। सबैको हक अधिकार दिने पार्टी नेकपा हो भन्ने पुष्टि भएको छ।’ मधेसलाई आधार बनाएर विखण्डनकारी अभियान चलाइरहेका सिके राउत र सरकारबीच शुक्रबार काठमाडौंमा सहमती भएको थियो। जसमा राउतले आफ्नो समूह संविधान मान्न तयार भएको र विखण्डनकारी गतिविधि अन्त्य भएको घोषणा गरेका थिए। प्रचण्डले मधेसी जनताको हक र हीतका लागि कम्यनिस्ट पार्टीको अगुवाइ नै मूख्य रहेको बताए। उनले मधेसी जनताले अन्य कुनै नाराको पछाडी नलागी समृद्धी र विकासको नारामा लागेर नयाँ युगतिर जानुपर्ने बताए। उनले नेकपा हरेक विषयमा जनताको लागि भनेर अगाडि बढेको पार्टी भएको बताए। प्रचण्डले नेपालमा भएका परिवर्तनका आन्दोलनमा मधेसी जनताको भूमिका महत्वपूर्ण रहेको बताए। उनले जनयुद्ध देखि लिएर जनआन्दोलनसम्म मधेसी जनताले महत्वपूर्ण र प्रेरणादायी भूमिका निर्वाह गरेको बताए।

उनले जनयुद्धमा १३ सय मधेसी जनताका छोराछोरीले बलिदानी दिएको स्मरण गरे। संघीय निर्वाचन र स्थानीय निर्वाचन हुन्छ कि हुँदैन भनेर अन्यौलता रहेको बेला प्रधानमन्त्री रहेका बेला आफूले झन्डै हप्तादिन मधेसमा बिताएर यहाँका जनताको मनोविज्ञान बुझेको प्रचण्डको भनाइ थियो।

उनले जनता निर्वाचनमा जान तयार भएको पाएसँगै राजनीतिक दलका नेताहरूलाई पनि निर्वाचनमा ल्याएरको सम्झिएका थिए। उनले भने, ‘निर्वाचन भएपछि यहाँका जनताहरूले सबैभन्दा बढी प्रतिशत निर्वाचनमा सहभागी भए। यहाँको जनता परिवर्तन, शान्ति, स्थिरता र हाम्रो पार्टीप्रति सकरात्मक छ भन्ने देखियो।’

प्रचण्डले मधेसका जनताको योगदान नेपाल निर्माण र यसको सुरक्षामा महत्वपूर्ण रहेको बताए। सीमानाका जनताले नै नेपालको रक्षा गर्ने र त्यसमा मधेसका जनता अग्र स्थानमा आउने उनको भनाइ थियो।

उनले भने, ‘काठमाडौं निर्माणमा पहाडका जनताको भन्दा बढी नै भूमिका मधेसको रहेको छ। नेपाल के हो भन्ने कुरा विखण्डनको कुरा गर्नेले नेपालको इतिहास बुझेका नहोलान? तराई, पहाड र हिमाल के हो भन्ने बुझेकाले नेपाललाई विखण्डन गर्ने सोच्दैनन्।’ उनले विगतमा सीताले भारतसँग र भृकुटीले चीनसँग सम्बन्ध विस्तार गरेको र गौतम बुद्धले विश्वलाई शान्तिको सन्देश दिएको भन्दै अहिले नेपाली जनताले २१ औँ शताब्दीमा विश्वलाई नयाँ सन्देश दिने बताए।

प्रतिक्रिया दिनुहोस !