– दीपेन्द्र भण्डारी –
टीकापुर : टीकापुर नगरपालिका वडा नं. ८ स्थित कर्णाली नदीमा के एस कन्ट्रक्सन द्वारा भई रहेको तटबन्ध निर्माणको काम अवरोध भएको छ । स्थानीय राजनीतिक दलका नेताको आडमा कर्णाली नदीबाट ढुंगा बालुवा संकलन गर्नेहरुले नदीको मुहान बाँध बाँधेर तटबन्ध स्थानमा पानीको मुहान छोडेपछि काममा अवरोध भएको हो ।

१३ करोड ९८ लाखको लागत मा कर्णाली नदीको बर्दिया साइड तर्फ भई रहेको तटबन्धको काम अन्तिम अवस्थामा पुगेपनि ढुंगा बालुवा संकलकले तटबन्ध भई रहेको साइडमा पुरै कर्णालीको पानी छोडेर तटबन्धमा अवरोध गरेपछि श्रीलंकाक्षेत्रमा नदी कटान हुने सम्भावना निकै बढेको छ । ‘तटबन्ध भई रहेको साइडमा जेसीबि लगाएर नदीको पानी मोडेपछि समस्या सृजना भएको छ तटबन्ध साइड इन्चार्ज मानवहादुर पालले बताए ।

शनिबार कर्णाली नदीमा स्थानीय बासिन्दा भेला भएर सोही बिषयमा छलफल समेत गरे । छलफलमा टीकापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दिर्घ बहादुर ठकुल्लाले हामी नेपाल भारत सिमा, नदी कटान जोगाउन प्रयास गर्छौ । तर राजनीतिक हस्तक्षेप गरी अवरोध गर्ने परिपाटी भएकाले यहाँ पनि यो अवस्था सिर्जना भएको बताए ।

श्रीलंकाको थुर्पै जमिन नदी कटानमा परि सकेको छ । केहि व्यक्तिले पैसाको प्रलोभनमा परी यो कार्य गरेको हो । जुन किसिमले ढुंगा बालुवाको ठेक्का दिइएको छ । नियम मिचेर कसैले काम गर्छ भने कानुनी कारवाही समेत हुने ठकुल्लाले बताए । हाल यो स्थानमा यत्रतत्र नदीको पानी अन्यत्र मोडी मनोमानी रुपमा ढुंगा बालुवा उत्खनन् कार्य बढेको छ । तर पनि सम्बन्धित निकायले यस तर्फ ध्यान नदिएको स्थानिय बासिन्दा बताउँछन ।

केहि राजनीतिकदलका नेता र ठेकेदार मिलेर कर्णाली नदीमा क्रेसर उद्योग संचालन गर्नका निमित्त कर्णाली नदीको मुहान बर्दिया साइड तटबन्ध स्थान तर्फ मोडिएको स्थानिय झपट बुढाले बताए । तर क्रेसर उद्योग नजिक गाउँ रहेको र बाताबरण दुषित हुने भएकाले क्रेसर उद्योग संचालन गरे बिरोध समेत गरिने स्थानीय बासिन्दा बताउँछन ।

प्रतिक्रिया दिनुहोस !