
– विएन यादव –
राजविराज : सप्तरीको महादेवा गाउँपालिकामा आ.व. २०७४÷०७५ मा विकास निर्माण कार्यमा व्यापक भ्रष्टाचार भएको रहस्य खुलासा भएका छन । महादेवा गाउँपािलकाको वडा नं. १ देखि ६ सम्मको वडामा व्यापक रुपमा विकास निर्माणमा अनियमितता तथा भ्रष्टाचार भएको नेकपाका स्थानीय युवा नेता कृष्ण देव मण्डलले बताएका हुन ।
गाउँपालिकामा आ.व. ०७४÷७५ मा कामै नगरेको योजनाको रकम भ्रष्टाचार गरी कागजमा मात्र विकास निर्माण भएको स्थानीय राम नारायण सरदारले जानकारी दिए । सडक, बाटोघाटो, पर्खाल, नाला, बोर्डिङ्ग, नदी नियन्त्रण, बाँध निर्माण, मन्दिर निर्माण लगायतको विकास निर्माणमा व्यापक भ्रष्टाचार भएको सरदारले बताउनुभयो ।
आ.व. ०७४÷०७५ मा गा.पा. भित्र विकास निर्माण गर्नको लागी गठन गरिएको उपभोक्ता समिति गोप्य रुपमा गठन गरिएको थियो । गाउँपालिकाले कुनै किसिमको मिडियामा सार्वजनिक सूचना प्रकाशन र प्रशारण नगरि उपभोक्ता समिति गठन गरिएको थियो । महादेवा गाउँपालिका वडा नं. १ बाहेक यस वर्षको आ.व. ०७५÷०७६ मा समेत कुनै मिडियामा सार्वजनिक सूचना प्रकाशन र प्रशारण नगरी उपभोक्ता समिति गठन गरिरहेको वडा नं. ६ का नेकपाका युवा नेता मनोज यादवले दाबी गर्नुभयो ।
गा.पा.मा भएको अनियमितता र भ्रष्टाचारको बारेमा गाउँपालिका भरी भन्डाफोर अभियान संचालन गरिने बताउनुभयो । त्यस्तै गाउँपालिका भित्र भएको अनियमितता र भ्रष्टाचार सम्बन्धी मुदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत दिने तयारीमा जुटेको नेकपा महादेवा गाउँपालिका जनसंघर्ष तथा जनपरिचालन समितिले जनाएको छ ।