विराटनगर, फागुन : नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकूदको संस्थागत रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अखिल नेपाल फुटबल सङ्घद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित महिला साफ फुटबल च्याम्पियनसीप प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले सरकारले स्थानीय तहबाटै खेलकूदको जग बसाल्ने गरी योजना अघि बढाउने बताउनुभयो ।

अध्यक्ष दाहालले नेपालमा पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले विराटनगरको मात्र नभई देशकै गौरव बढेको छ भन्नुभयो । उहाँले राष्ट्रिय एकता बलियो बनाउन र स्वास्थ्यको लागि पनि खेलकूदको ठूलो भूमिका छ भन्नुभयो । अध्यक्ष दाहालले नेपाली महिला फुटबल खेलाडीले आफूलाई शक्तिशाली बनाउन खेलमा अझै सुधार गर्दै जानुपर्ने सुझाव दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन वटै सरकारको प्राथमिकतामा खेलकूद रहेको छ भन्नुभयो । उहाँले विराटनगरलाई खेलकूदको राजधानी बनाउने योजनासाथ अधि बढ्ने दृढता व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यो प्रतियोगिता विराटनगरमा हुनु नै ठूलो उपलब्धी हो भन्नुभयो ।

आयोजक सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल जस्ता खेलले देशको प्रतिष्ठा बढाउन र खेलाडीलाई व्यावसायिक बन्न मद्दत गरिरहेको छ भन्नुभयो ।आजको उद्घाटन खेलमा नेपालले भुटानलाई शून्यका विरुद्ध तीन गोलले पराजित ग¥यो । भोलिको खेल भारत र माल्दिभ्सबीच हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस !