काभ्रेपलाञ्चोक : प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । प्रहरी स्रोतले वलीले गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु तथा दुई जना घाइते भएको घटनाको जिम्मा लिएको बताएको छ ।

खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभे्रपलाञ्चोक र ललितपुरको सिमानाबाट बा१७ च ४८९३ नं को स्कारपियो गाडीमा वलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेल स्रोतले जनाएको छ । उनीहरूलाई दुई जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च÷अप्रेशन’का क्रममा पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार वलीसहितको टोली काभे्रपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठामाडौँ जाँदै थियो । गाडीमै रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका छन् ।

काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा गत मङ्गलबार साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव नेकपाका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको थियो । सो सर्च अप्रेशनका क्रममा वली भाग्न सफल भएका थिए । सरकारले गत फागुन ३० गतेदेखि विप्लव समूहका ध्वंसात्मक गतिविधिलाई नियन्त्रण गर्ने क्रममा ओलीलगायतका नेता कार्यकर्ता नियन्त्रणमा लिइएका हुन् ।
–––

प्रतिक्रिया दिनुहोस !