– मनऋषि धिताल –

यो पंक्तिकार नेपालमा सत्तासीन राजनीतिक दलको प्राविधिक रूपमा साधारण सदस्य रहिरहनमा गौरव गर्छ । तर, कुनै पनि राजनीतिक समूहमाथि प्रतिबन्ध लगाउने पक्षमा छैन । सैद्धान्तिक रूपमा यो विचार राखिरहँदा सदस्यता खारेजीमा परे मञ्जुर छ ।
विप्लव र उनको समूह देशको अधोगतिको मुख्य कारक हो वा सत्तासीन वर्गभित्रै कारक तत्व जीवित छ ? वैचारिक रूपमा पनि किरण, प्रचण्ड, केपी, बाबुराम, रामचन्द्र (नेका नेता), सिपी, बिजुक्छे सबैका सबै घाघडान नेताको शास्त्रीय राजनीतिक ज्ञान र अनुभवको महाभारत अगाडि विप्लवको विचार कसरी डरलाग्दो भयो ? जीवनभरका राजनीतिक, वैचारिक ज्ञान र अनुभवले आफ्ना समर्थक तथा जनताबाट विप्लवको पुन्टे विचारलाई अलग्याउन नसकेर फौजी प्रतिबन्ध लगाउनुपर्ने अवस्था आएको हो ?

सर्वसाधारण जनतालाई क्षति पु¥याउने विप्लव वा जोसुकैका गतिविधिको कसैले समर्थन गर्न सक्दैन । गर्नु पनि हुँदैन । तर, ७० वर्षको होइन, सात वर्षको राजनीतिक विश्लेषण गर्ने हो भने गणतान्त्रिक मूलधारको प्रमुख दल बनेको तत्कालीन माओवादीलाई फुटको संघारमा पु¥याएर कमजोर बनाउन हाम्रा श्रद्धेय ‘क्लाउड’ कमरेडको व्यक्तित्वले मुख्य भूमिका खेलेको जगजाहेर छ । माओवादी आन्दोलनभित्र ‘बादल’ नमडारिएको भए ‘फुटाउनै’ पर्ने भनेर न किरण चम्कन्थे न त नेत्रविक्रमका विप्लव गर्ने आँखा खुल्थे । फुटपछि बादल कमरेडकै नेतृत्वमा दोस्रो संविधानसभा चुनाव ध्वस्त पार्न फौजी गैरफौजी हर्कत भएकै हो । जसबाट धनजनको क्षति भयो, आखिर फर्की आउने आफ्नो घर एक सय २६ कोठेबाट २६ कोठेमा सीमित उजाड भयो । तर, उनका गतिविधिमा प्रतिबन्ध लागेन । उनलाई कुनै जेलको छिँडीमा लगिएन र कुनै अदालतमा हाजिर पनि गराइएन । हातमा हतियार हुँदैमा आफ्ना चेलामाथि बन्दुक तेस्र्याउनु र प्रतिबन्ध लगाउनु राजनीतिक नैतिकता अन्त्यको घोषणा गर्नु हो ।

विप्लव समूहलाई सरकारले जतिसुकै खतराको सूचीमा राखेर बढाइचढाइ गरे पनि उसले कुनै सुरक्षा निकायमाथि निशाना दागेको उदाहरण छैन र कुनै पनि वक्तव्यमा तीमाथि प्रहार गर्ने कुरा पनि छैन । बरु धेरैचोटि विप्लवले आफूहरू युद्धमा नजाने, सुरक्षा निकायमाथि हमला नगर्ने बताएका छन् । पूर्वमाओवादीको मुख्य नेतृत्व प्रचण्ड, बाबुराम वा किरण र बादल सबैले क्रान्तिलाई धोका दिएको आफैं भन्ने गरेकै छन् । सबै मिली (खासमा नमिली) जनतालाई धोका दिएको सत्य हो । शान्ति प्रक्रिया अझै पूरा भएको छैन, माओवादी हिजोको दुईतिहाइ शक्ति हो भन्ने गौरवपूर्ण स्मरण गर्न खोज्नु, सबै मिली विघटित गरेका जनसेना, जनसत्ता, जनसरकार ब्युँताउँछौ भन्ने पवित्र राजनीतिक विचार राख्नु कसरी अपराध हुन्छ र प्रतिबन्ध लगाउनुपर्ने ?
विप्लव समूह चर्को आर्थिक संकट टार्न ब्यापक चन्दा असुलीमा लागेको छ, त्यसमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने छ ।

राजनीतिक नेतृत्व र राजनीतिक शास्त्रको सामान्य ज्ञान बुझ्ने जोसुकैले विप्लव र उनको इमान्दार टिमले आ–आफ्नो पेट पाल्न, शान–सौकत बढाउन, धन थुपार्न जोखिमको विप्लवी बाटो लिए भन्न सकिँदैन । उनलाई धन दौलतको बाटो त अहिलेको सत्तामै साझेदार हुँदा वा प्रवक्ता हुँदा जति पनि मिल्थ्यो । जसरी उनका पूर्व सहयोद्धाले इतिहासको ब्याज र स्याज असुलिरहेका छन् । उनको समूहभित्र घुसपैठ गरेर स्वार्थ लुट्ने तŒव पनि होलान् तर विप्लवको मूल टिम जो हिजो जनयुद्धको मैदानबाट खारिएर आएको हो – उनीहरूले मरिसकेको क्रान्तिकारी सपना नयाँ ढंगले ब्युँताउन खोजेका छन् । प्रतिबन्धबाट आफ्नो सपना त्याग्दैनन् ।

विप्लवको हमलाको तारो भ्रष्टाचार, बेथिति, नयाँ ढंगको शोषण ( वैदेशिक रोजगारका नाममा गरिने शोषण) विरुद्ध छ । जनताको र देशको पनि अहिलेको दुस्मनी भ्रष्टाचारसँग होइन र ? विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउनु भ्रष्टाचारीलाई राज्यद्वारा संरक्षण दिइनु होइन ? यो राज्य भ्रष्टाचारविरुद्धका राजनीतिक, सामाजिक अभियान सञ्चालन गर्नेलाई प्रतिबन्ध लगाउँछ भन्ने सन्देश जनतामा प्रवाहित हुनु विप्लवको लोकप्रियता राज्यले नै बढाउनु हो कि होइन ? जसरी हिजोको राजतन्त्र वा निरंकुश तन्त्रविरुद्ध राजनीतिक अभियान चलाउँदा, महँगी वा कालाबजारीविरुद्ध आन्दोलन गर्दा युवा विद्यार्थीले गरेको ढुंगामुढा, राँके जुलुस, टायर दहनको जस्तै स्तरमा भएको गतिविधिलाई प्रतिबन्ध लगाउनु विप्लव समूहलाई बलियो फौज निर्माण गर्न प्रेरित गर्नु वा उक्साहट गर्नु हो कि होइन ?

अहिलेका जल्दाबल्दा नेतालाई भौतिक रूपमा सिध्याउने विप्लव समूहको योजना सरकारले फेला पारेकाले प्रतिबन्ध लगाइएको भन्ने चर्चा छ । पुरानो बलियो राजनीतिक व्यवस्थालाई बलपूर्वक फाल्न योगदान गरेका र नयाँ राजनीतिक व्यवस्थाको केन्द्रमा भएका नेतामाथि भौतिक हमला कसैले कल्पना गर्ने कुरा होइन । ‘प्रचण्ड र केपी’ अहिलेको केन्द्रीय वाम राजनीतिक विचार हो । विप्लवले राजनीतिक रूपमै त्यो केन्द्रविरुद्ध उस्तै नाम तर फरक कामसहित अर्को वैकल्पिक वाम केन्द्र निर्माण गरेर हाबी हुन खोज्नु सरकारी वाम विचार र संगठनलाई राजनीतिक रूपमा प्रहार गर्नु हो । त्यसोभए के विप्लवमाथिको अराजनीतिक प्रतिबन्धले सरकारी वाम विचारको निधन हुन रोक्छ र ? के हिजो हाम्रा पूर्वकमरेड बाबुरामले दरिलोसँग पक्रेको ‘लालध्वज’ विचारको उनकै कारणले निधन भएन ?

प्रतिक्रिया दिनुहोस !