काठमाडौं । ‘आज हुन्छ कि भोलि’ भन्दै मन्त्रिपरिषद् हेरफेरबारे बजारमा निक्कै हल्ला चल्छ । तर, भित्री तयारी छ, बजेटपछिको ।
अर्थात्, असार लागेपछि अहिलेका केही मन्त्री सरुवामा पर्ने, केही बिदा गरिने र केही थपिने गरी तयारी भइरहेको बताइन्छ । त्यसअघि यही वैशाख ९ भित्र पार्टी एकताका सम्पूर्ण काम सिध्याउने भनेर नेकपाका नेताहरु कस्सिएका छन् ।

अध्यक्षद्वय ओली र प्रचण्ड महासचिवसहित चैत अन्तिममा रातभर चन्द्रागिरीमा बस्नुको कारण पनि यसैलाई मानिएको छ । चन्द्रागिरी बस्दा पोलिट्व्युरो, आयोग, विभाग, जनसंगठन, जिल्ला कमिटीका सम्बन्धमा नयाँ खाका कोरिएको छ । र, त्यहीँ कुरा भएको छ– बजेटअघि कुनै पनि मन्त्री नचलाउने । बजेटपछि भने सचिवालय बैठक बसेर कामको मूल्यांकन गर्दै हेरफेरमा जाने ।

अहिले देशमा ठूला परियोजना अलपत्र छन् । अनुगमन प्रणाली कमजोर छ । आफ्नो अगाडि सबै कुरा ठीकठाक देखिने, तलको भद्रगोलमा खासै सुधार नहुने महसूस स्वयं प्रधानमन्त्रीले गर्नुभएको कुरा चन्द्रागिरीमा व्यक्त भएको छ ।

सँगसँगै अर्को समस्या, रोल्पा, रुकुम, गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्लामा कर्मचारी खटाउने क्रममा नेताहरुले आफ्नो मान्छे छानेका छन् । फलस्वरुप कानुन कार्यान्वयनमा समस्या देखिएको छ । घरपायक भन्यो, काम गर्न नसकिने । किनभने, त्यहीँ नातापाता हुने, पछि फर्किएर त्यहीँ पुग्नुपर्ने, पारिवारिक र सामाजिक सम्बन्ध स्थापित भएको ठाउँमा काममा निष्पक्षता र निडरता नआउने ।

तलका कर्मचारीले आक्रामक हिसाबले फिल्डमा काम गर्नै नसक्ने । इलामका मान्छेलाई वर्षमान पुनले रोल्पा लगेर के उपलब्धी हात लाग्छ ? न चिनजान, न निकटता † ठाउँ विशेषको हैन, व्यक्ति विशेषको समस्या हो यो । क्याडर बेस्ड नछानी नगरपालिकामा कार्यकारी अधिकृत भइसकेका, एलडिओ, जिशिअ भइसकेकालाई सिडिओ बनाएर पठाउँदा काम प्रभावकारी नभएको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस !