काठमाडौं । सरकारको खोप कार्यक्रम प्रभावकारी हुन नसक्दा नेपालमा दादुरा संक्रमणका घटना बढेका छन्।

युनिसेफका अनुसार सन् २०१८ मा नेपालमा २४७ जनालाई दादुराको संक्रमण भएको भेटिएको छ। यो अघिल्लो वर्ष अर्थात् सन् २०१७ को तुलनामा साढे दुई गुणा बढी हो।

सन् २०१७ मा यो संख्या ९९ थियो ।

नेपाल सरकारले वर्षेनी दादुरा खोपलाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिरहेको सन्दर्भमा युनिसेफको यस्तो तथ्यांक आएको हो।

नेपालजस्ता विकाशील देशहरू मात्र नभइ विकसित मुलुकहरूमा पनि दादुरा संक्रमण बढिरहेको युनिसेफले औंल्याएको छ। सन् २०१० देखि २०१७ सम्ममा विश्वका करिब १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएको र त्यो औसतमा बर्सेनी २ करोडभन्दा धेरै रहेको उसको दाबी छ।

‘आज हामीले केही देशहरूमा देखिरहेको दादुराको महामारीको धरातल केही वर्षअघि नै बनेको हो,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भनेकी छिन्, ‘दादुरा भाइरसले खोप नलगाएका बालबालिकालाई संक्रमण गर्छ तर यो रोक्न सकिने रोग नै हो। धनी, गरिब सबै देशहरूले प्रत्येक बालबालिकालाई खोप लगाउनुपर्छ।’

सन् २०१९ को पहिलो तीन महिनामा विश्वभर एक लाख १० हजारभन्दा धेरै दादुरा संक्रमणित देखिएका छन्। यो गत वर्ष सोही अवधि तुलनामा करिब तीन गुणा बढी हो। सन् २०१७ मा करिब एक लाख १० हजारको दादुराका कारण मृत्यु भएको थियो। ती मध्ये अधिकांश बालबालिका थिए।

प्रतिक्रिया दिनुहोस !