
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सुन्दर निबन्धसहितको सपनाको पुलिन्दाको संज्ञा दिएका छन्।
संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सुनेपछि बाहिरिएका बाबुरामले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘सुन्दर निवन्ध जस्तो छ नीति तथा कार्यक्रम। ‘बारीका पाटा र खेत गरा, सबै हराभरा’ जस्ता नारा पनि छन्’, पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘कोरा कल्पना र सपनाको पुलिन्दा मात्रै हो नीति तथा कार्यक्रम। यसबाट आशा केही गर्न सकिँदैन।’ नयाँ शक्ति नेपालका संयोजक भट्टराईले नीति तथा कार्यक्रममा भ्रष्टाचार रोक्न र प्रशासन सुधार्ने ठोस योजना नआएको बताए।
‘कर्मचारीलाई कसम खुवाएर, पूजापाठ गराएर र कोटी होम गराएर भ्रष्टाचार रोकिँदैन’, उनले भने, ‘महिला हिंसा अन्त्यका लागि सामाजिक जागरण चाहिन्छ। तर ठोस योजना नै आएन।’ कर्मचारीलाई कसम खुवाएर, उठबस गराएर भ्रष्टाचार नरोकिने दोहोर्याउँदै उनले ठोस कार्यक्रम र योजनाबिना निवन्धले मात्रै केही नहुने स्पष्ट पारे।
उनले केही राम्रा कार्यक्रम पनि सुन्न पाएको बताए। ‘प्रतिस्थानीय तहसम्म पिच सडक पुर्याउने र प्राविधिक विद्यालय खोल्छु भन्नु राम्रो हो’, उनले भने, ‘तर त्यो कार्यान्वयन कसरी गर्ने ? तीब्र बिकासका लागि पुँजी परिचालन र लगानीका योजना चाहिन्छ।’ योजना सुन्दर भए पनि कार्यान्वयन गर्ने विधिबारे सरकार केही नबोलेको उनले बताए। ‘सुन्दा मिठो लाग्ने तर कार्यान्यन नहुने सपनाको पुलिन्दा हो यो नीति तथा कार्यक्रम’, उनले भने।