काठमाडौं । गृहसचिवलाई सूचना आयो, डाँकासँग पुलिस मिलेको । हत्तपत्त पत्याउन सकिने सूचना थिएन । तर, प्रहरीमा यसबारे सोधिँदा त्यहाँबाट एसएमएसको डिटेल्स निस्कियो, एकजना कसुरदारसँग नाम चलेका डिएसपीको कुराकानी भएको ।
रानीबारीका लालेन्द्र शेरचनको घरमा डकैती गरी फरार रहेका विक्रम श्रेष्ठको समूहसँग रौतहटको चन्द्रपुर इप्रकामा कार्यरत डिएसपी कुमोध ढुंगेलको कुराकानी देखिएपछि हेडक्वार्टरले आन्तरिक छानबिन गर्दै थियो । यससँगै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्यामा पक्राउ अभियुक्तको बयानका आधारमा कनकमणि दीक्षितदेखि हालका आइजी सर्वेन्द्र खनालमाथि गरिएको हत्याप्रयासका घटनासँग केही बहालवाला प्रहरीको संलग्नतामाथि पनि छानबिन अगाडि बढेकै हो । महानिरीक्षकको सचिवालयले संकलन गरेको सूचनाका आधारमा अस्ति सोमबारदेखि टेकुस्थित अपराध महाशाखाले अनुसन्धान थालेको छ ।
उता, नेपाल प्रहरीको सईबाट इन्स्पेक्टर बढुवामा सशस्त्र द्वन्द्वकालमा जागिर छाड्नेहरू छुटेपछि टाउको दुखाइको विषय बनेको छ । शान्तिप्रक्रिया शुरु भएपछि जागिर जोड्ने १८ भगौडामध्ये वैशाख १० को बढुवा सूचीमा ६ जना परेका छन् । बाँकी १२ जना छुटेपछि गृहस्थित बढुवाउपरको उजुरी सुन्ने समितिमा त्यस्तो समस्या आएको हो । यदि समितिले न्याय नदिएमा अदालत जाने भनी उनीहरू कराइरहेका छन् ।

५४ जना असईलाई सईमा बढुवा गर्ने क्रममा ०५५ कात्तिक १ गते असईमा भर्ना भई ०६० देखि ०६१ को वैशाख, जेठ र असोजमा सईमा बढुवा पाउनेहरू यसचोटि इन्स्पेक्टर भएका हुन् । बढुवा क्रममा कतिपय शक्तिकेन्द्रको साथका कारण परेका छन् भने शक्तिकेन्द्र साथमा भएर पनि कतिपयले ‘न्याय’ पाएनन् । अघिल्लो बढुवाका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा नेता वामदेव गौतमका पिएसओ जयनेपाल थापा छुटेका थिए । नाताले वामदेवकै भाइ पर्ने प्रकाश अर्याल आइजी भएको बेला उनको सिफारिस कार्यान्वयन भएन ।

यसचोटिका आइजी सर्वेन्द्र खनालले सात नम्बरमा हालिदिए । तर, थुप्रै ब्याचीलाई पछार्दै झलनाथ खनालका पिएसओ बाबुराम बस्नेतले ४८ नम्बरमा बाजी मारे । यही बढुवामा आइजी खनालको सानिमाका छोरा मुनेन्द्र थापाले पनि अन्तिम नम्बरमा बाजी मारे । यो बढुवामा नेताहरूको पिएसओभन्दा अदालतमा खटिएका अंगरक्षक बलिया देखिए । विभिन्न न्यायाधीशको सेवा गरेका जानुकादेवी खरेल, कृष्णदेवप्रसाद साह, कमलकुमार लुंगेली, दुर्गा खनालहरू इन्स्पेक्टर भएका छन् । यो बढुवा मूलतः ०६० र ०६१ को बैशाखसम्म सई हुनेहरूलाई समेट्ने योजनाका साथ तयारी गरिएको थियो । तर, शक्तिकेन्द्रको तीव्र दबाबका कारण ०५५ मा भर्ना भएका ८२ जना असईको टोली टुक्राटुक्रा भएको छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस !