काठमाडौँ २४ बैशाख । राष्ट्रिय पत्रकारिता पुरस्कारबाट समावेशी अनलाईनका अध्यक्ष तथा सम्पादक एवम् बरिष्ठ पत्रकार खिलबहादुर भण्डारी सम्मानित भएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवस, २०७६ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज राष्ट्रपति शीतल निवासमा आयोजना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण एवम् वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा सम्पादक भण्डारीलाई सम्मान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संयुक्त रुपमा सम्मानपत्र ढोसल्ला र एक लाख रुपैयाँ राशिसहित सम्मानित गरेका हुन् ।
सो अवसरमा सम्पादक भण्डारीसहित जनही रु दुई लाख राशिको वरिष्ठ पत्रकार सम्मान बद्रीविनोद प्रतीक र तीर्थ कोइरालालाई प्रदान गरियो भने रु एक लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट निर्मला शर्मा, माधव विद्रोही, उमीद बागचन, डण्ड गुरुङ र मालाकुमारी कर्णलाई पुरस्कृत गरिएको थियो ।
सरकारले आज ‘उत्तरदायी आमसञ्चारः लोकतन्त्रको आधार’ को नारासहित दिवस मनाएको हो ।
सोही अवसरमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थिरता, दिगो शान्ति र आर्थिक विकासमा मुलुक अग्रसर बनेको परिवर्तित सन्दर्भलाई गहिरोसँग आत्मसात् गर्दै पत्रकारिताजगत्ले थप रचनात्मक बनेर समृद्धिको यात्रालाई सार्थक तुल्याउन कटिबद्ध बन्नुपर्ने खाँचो ओल्याईन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको र प्रेस स्वतन्त्रता लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण माध्यम भएकाले उत्तरदायी पत्रकारिताले नै प्रेस स्वतन्त्रतालाई सार्थक र सबल बनाउने पनि उल्लेख गरिन् । नेपालमा पत्रकारिता क्षेत्रले सामाजिक चेतना तथा जागरण, मानव अधिकार र लोकतान्त्रिक प्रणालीका पक्षमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “लोकतन्त्र र उत्तरदायी पत्रकारिताबीचको सम्बन्ध घनिष्ट हुन्छ ।
यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र नेपालीको आधारस्तम्भ रहेको जनाउँदै लोकतन्त्रलाई सबल बनाउन पेशागत मर्यादा, सम्पादकीय स्वतन्त्रता र आर्थिक स्वतन्त्रतासहित प्रेसको स्वर्ण युग बनाउनेतर्फ सरकारले नयाँ आमसञ्चार कानूनहरु ल्याउन लागेको जानकारी दिए ।
सञ्चार क्षेत्रका आलोचनालाई सरकारले स्वीकार्ने उल्लेख गर्दै उनले प्रेसले पाठक र दर्शकप्रति आफ्नो आचारसंहिता घोषणा गरी छ–छ महीनाको त्यसको समीक्षात्मक विवरण आफैले सूचित गनुपर्ने प्रणाली विकास गरिने बताए।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पत्रकारितालाई मर्यादित, जिम्मेवार र स्वतन्त्र कायम राख्न सरकार कानूनी तर्जुमामा लागेको बताए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता दिवस मनाइनु मौलिक उत्साहको पक्ष भएको बताउँदै समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले पनि योगदान गर्ने जनाए ।
नेपालमा गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानी विसं २०७३ देखि आजका दिनलाई यो दिवस मानिँदै आएको हो ।

प्रतिक्रिया दिनुहोस !