काठमाडौं । अनियमितता छानबिनको लागि प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय सतर्कता केन्द्रको एउटा टोली चैत अन्तिम सातादेखि राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा खटिएको छ । डिएसपीको नेतृत्वमा चार सदस्यीय टोलीले प्रशासनिक, नीतिगत तथा केही आर्थिक अनियमिततासम्बन्धी उजुरीको गहिरो खोजी गरेको छ । विभिन्न सम्पत्ति तथा सवारीसाधन खरिदमा भएको नीतिगत तथा आर्थिक अपचलन, जनशक्ति व्यवस्थापन विभागमा भएको गैरकानुनी प्रशासनिक निर्णय र नियमन तथा सुपरीवेक्षण विभागले तर्जुमा गरेको नीति÷निर्देशन, स्थलगत तथा गैरस्थलगत प्रतिवेदनमा भएको चलखेल र भाषागत कमजोरीलाई टोलीले छानबिनको मुख्य विषय बनाएको बुझिएको छ ।

कार्यकारी निर्देशकमध्ये बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता नारायणप्रसाद पौडेल तथा कर्मचारी युनियनका केही पूर्व पदाधिकारीले गरेको कार्यविधिभन्दा बाहिर धेरै पटकको विदेश भ्रमण, सीमाभन्दा बढीको महँगो सवारी साधन खरिद अनि निर्देशकहरूलाई दिइएको एकल उपभोग सुविधा र बैंक तथा वित्तीय संस्थाको चाहनामुताविक प्रतिवेदन तयार गरी सम्बन्धित कार्यकारी निर्देशक तथा निर्देशकहरूले इच्छानुसार अनुचित फाइदा लिएको विषयलाई पनि टोलीले अनुसन्धानमा राखेको छ ।

स्रोतका अनुसार बैंकले कार्यकारी निर्देशक भन्दा निर्देशकलाई लाखौंं रूपैयाँ महँगो गाडी उपलब्ध गराएको विषय पछिल्लो दिनमा थप रहस्यमय बनेको छ । निर्देशकहरूलाई सिंगल गाडी उपलब्ध गराउने नीतिगत व्यवस्था कहीँ–कतै छैन । हालका अर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडा एवं योजना आयोगका भूतपूर्व उपाध्यक्ष तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलगायत उच्चाधिकारी बैंकमा निर्देशक छँदा तीन जनाले एउटा सवारी साधन संयुक्त रूपमा प्रयोग गर्थे ।

पहिलेका निर्देशक तथा कार्यकारी निर्देशकले मुश्किलले दुईदेखि तीन वर्षमा एकपटक विदेश यात्राको अवसर पाउँथे । अहिले विदेश भ्रमणमा जसको शक्ति उसैको भक्तिको सिद्धान्त अपनाइएको छ । केही समयअघि सहायक निर्देशकबाट कार्यक्षमताको आधारमा बढुवामा नपरेपछि कांग्रेसनिकट कर्मचारी युनियनका केही पदाधिकारीले रुष्ट हुँदै केन्द्रमा उजुर हालेको हुन सक्ने बैंकका उच्चाधिकारीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस !