काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८ करोड भारतीय नक्कली नोटसहित पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ । शुक्रबार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले नक्कली नोटको कारोबार गर्ने ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा नक्कली नोट ल्याउने तीन जना पाकिस्तानी नागरिक र रिसिभ गर्न विमानस्थल पुगेका तीन नेपाली नागरिक गरी ६ जनालाई सार्वजनिक गरेको रानीपोखरीका प्रवक्ता (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए । कतार एयरको फ्लाइट नम्बरबाट दोहा हुँदै नक्कली नोटसहित काठमाडौं आएका पाकिस्तानी नागरिक ४९ वर्षीय मोहमद अख्तर, ३९ वर्षीय नादिया अनवर र ६७ वर्षीय नसिर उद्दिन पक्राउ परेका हुन् ।

उनीहरुले विमानस्थलसम्म ल्याएको नोट लिन शुक्रबार पटकपटक नक्कली नोट कारोबारको मुद्दा खेपेर जेलसमेत भोगेका युनिस अन्सारी भने सालोलाई लिएर नक्कली नोट लिन विमानस्थल पुगेको एसएसपी ज्ञवालीले बताए । विगतमा नेसनल टेलिभिजन सञ्चालनमासमेत संलग्न रहेका अन्सारी प्रतिबन्धित भारु दुई हजारका नोट लिन रौतहट जिल्ला रमौली बैरिया नगरपालिका–१ बस्ने सालो सुयल खानलाई लिएर विमानस्थल पुगेका थिए ।

उनीहरुको गाडी चालक सूर्यविनायक नगरपालिका ५ बालकोट बस्ने सुदन रानाभाट थिए । प्रहरीले युनिससहित पैसा रिसिभ गर्न विमानस्थल पुगेका तीन जनासँगै कतारबाट पैसा लिएर विमानस्थल आइपुगेका तीन पाकिस्तानीलाई पक्राउ गरेको हो । शुक्रबार बिहान ९ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तर्फको भन्सार क्षेत्रमा काठमाडौं आएका तीन पाकिस्तानीले लगेजमा लुकाएर ल्याएको ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ रिसिभ गर्न अन्सारी सालो र ड्राइभरसँग विमानस्थल पुगेका थिए ।

एसपी ज्ञवालीका अनुसार पाकिस्तानी नागरिकलाई विमानस्थल प्रहरी र भन्सार प्रहरीले पक्राउ गरेको हो भने पैसा रिसिभ गर्न गएका तीन नेपालीलाई प्रहरीको विशेष ब्यूरोले नियन्त्रणमा लिएको हो । युनुसलाई प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ २०७० मा ३५ लाख नक्कली भारुसहित ललितपुरबाट पक्राउ गरेको थियो । नक्कली नोट बरामदको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !