काठमाडौँ । नेपालमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन कुमार थापा क्षत्रीले प्रहरी समक्ष अनुमानको भरमा भूकम्पको भविष्यवाणी गरेको बयान दिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अनुमानको भरमा क्षत्रीले देशमा विनाशकारी भूकम्प आउने भविष्णवाणी गरेको बयान दिएको बताए ।
क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार दिउँसो गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । सिनामगंलमा काशी विश्वनाथ रत्न प्रा.लि. कार्यालय सञ्चालन गर्दै आएका क्षत्रीलाई ज्योतीष महासंघले ज्योतिषहरुमाथि नै आँच आउने गरी जथाभावी बोल्दै हिँडको भन्दै कारबाही गरिसकेको थियो । सो कुरा प्रहरी अनुसन्धानबाट पनि खुल्न आएको प्रवक्ता बोगटीले जानकारी दिए ।
उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । युट्युबमार्फत क्षत्रीले जेठ २९ भित्र देशमा भूकम्प नआए आफू जेल जान तयार रहेको समेत बताएका थिए । पक्राउ परेका क्षत्रिमाथि विपद् जोखिम व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख जरीवाना हुनसक्ने बताइएको छ ।
पक्राउ परेका क्षत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर पहिलोपटक आफूलाई युवा ज्योतिष भन्दै चिनाएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । विस्तारै–विस्तारै जथाभावी बोल्न थालेपछि क्षत्रीलाई महासंघले कारबाही गरी निलम्बन गरेको ज्योतिष कमल पौडेल बताउँछन् ।
ज्योतिष पौडेलका अनुसार क्षत्रीले केही युट्युब च्यानलहरु किनेर आफूलाई ज्योतिष भनेर चिलाउन अन्तर्वार्ता लिन लगाएको समेत आरोप लगाए । पौडेलले भने, ‘ज्योतिष क्षेत्रमा धावा बोल्ने जो कसैलाई पनि कारबाही हुनपर्छ ।’ ज्योतिष पौडेलले भने, ‘जन्म मिति र जन्म स्थानको आधारमा मात्र भविष्यवाणी गर्न सकिन्छ । कसैले कसैको अनुहार हेरेर भविष्यवाणी गर्न सकिन्न ।’ पक्राउ परेका ज्योतिष भनिने क्षत्रीले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदा आफूलाई अमेरिकाले एक लाख डलर अफर गर्दा समेत नगएको बताएका छन् । सुजन पन्त